बिर्तामोडः झापाको कन्काई नगरपालिका–५ मा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।
बा२ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का १९ वर्षीय सागर लिम्बूको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
यसैबीच इलामको देउमाई नगरपालिका–८ आमबोटेका ३३ वर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहान साढे ५ बजेको समयमा राईले सामान्य घरायसी वादविवादको विषयलाई लिएर आफ्नै श्रीमती २७ वर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी जीतपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । सो स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट अनुसन्धान अधिकृतसहितको टोली खटि गई अन्य थप अनुसन्धान भइरहेको छ ।