धरानः धरानमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
धरान उपमहानगरपालिकाको आयोजना तथा स्थानीय भवन निर्माण व्यवसायी संघ र सेक नेपालको व्यवस्थापनमा धरानस्थित घण्टाघर परिसरमा रहेको भूकम्प स्मारकमा दीप प्रज्ज्वलन कार्यक्रम भएको हो ।
२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा २०४५ सालको भूकम्पमा ज्यान गुमाएका साथै अन्य समयको बेला भूकम्पमा ज्यान गुमाउनेहरुको सम्झना गरिएको छ । धरान घण्टाघरस्थित भूकम्प स्मृति स्मारकमा दीप प्रज्ज्वलन साथै श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको हो ।
धरान निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरान–२ का वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, सेक नेपालका अध्यक्ष महेश प्रधान, उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनियर अञ्जु प्रधान, इञ्जिनियर सुरज श्रेष्ठ, घर निर्माण व्यवसायी संघका हरिबहादुर कार्कीलगायत अन्य निर्माण व्यावसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मेयर राईले २०४५ सालको भूकम्प वा अन्य भूकम्पलाई सम्झिएर घर निर्माण गर्दा सचेतना अपनाउनुपर्ने बताए ।
कार्यक्रमको सञ्चालन उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख भेषराज अधिकारीले गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा



