विराटनगरः प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहीबार भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–२ मा को११प ९९५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका–११ का ३० वर्षीय रञ्जीत सरदारको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोरङको मिक्लाजुङ गाँउपालिका–५ मा ना३ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ वर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा, स१च १४४६ नम्बरको टाटासुमो र प्रदेश २–०१–ह०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किँदा घाइते भएका टेम्पो चालक स्थानीय २६ वर्षीय हेमराज राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
तीनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।