विराटनगरः बिराटनगर–१५ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा भारत अररिया जोगवनी–४ की ४० वर्षीया लक्ष्मीदेवी साह रहेकी छिन् । उनलाई सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो प्रोक्जोभिन–७२० ट्याब्लेट र फिनिरगिन ६० एम्पुलसहित पक्राउ गरेको हो ।
यसैगरी झापा दमक–८ स्थित सेतुमारी रोडबाट दुईजना लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई–२ का २१ वर्षीय कनैया गनगाई र रतुवामाई–८ का २० वर्षीय राजकुमार गनगाई रहेका छन् ।
शुक्रबार विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को२१प १०३ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणपश्चात् उनीहरुमाथि चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोइन ब्राउनसुगर पेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ४ हजार ७ सय रुपैयाँ समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसैगरी झापाको मेचीनगर–६ स्थित मेचीपुलबाट मोरङ उर्लाबारी–२ का ३१ वर्षीय सुजन परियार लागूऔषधसहित पक्राउ परेका छन । उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल, फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
पक्राउ परेका चारैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।