धरानः आज माघ १६ गते अर्थात् सहिद दिवस । देशभर सहिद दिवस मनाइएको छ । धरान उपमहानगरपालिकामा सहिद सम्झिने कार्यक्रम भएको छ । देश र जनताको हक, अधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा बिहीबार धरान उपमहानगरपालिकामा पनि एक कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको छ ।
सहिदहरुको फोटोमा माल्यार्पण गरी दिवस मनाइएको छ । कार्यक्रमकाप्रमुखअतिथि समेत रहनु भएकाप्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहूति दिने वीर सपूतहरूको सम्झनामा सहित दिवस मनाइँदै आएको बताए । गणतन्त्रसम्म ल्याई सार्वभौम बनाउन सहिदहरुले दिएको बलिदान भुल्न नहुने र सहिदले देखाएको बाटो हिँड्न सके मात्रै सहिदप्रतिको सच्चा सम्मान ठहरिने उनको भनाइ थियो ।
मेयर तिलक राईले प्रत्येक वर्ष धरान उपमहानगरपालिकामा सहिद दिवस मनाइँदै आएको बताए । उनले सहिदले देखाएको बाटो समाएर त्यहीअनुसार अघि बढे मात्र सहिदप्रतिको सम्मान ठहरिने बताए । ‘सहिदहरुले जुन योगदान दिनुभयो, सहादत प्राप्त गर्नुभयो, त्यसभित्र लुकेका तथ्यहरुलाई आत्मसाथ गर्न सकेका छैनौं’, उनले भने, ‘महत्वपूर्ण आधार र प्राप्त उपलब्धिहरूको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिकरूपले समृद्ध समाज निर्माण गर्न सकेमात्रै सहितप्रतिको सच्चा सम्मान हुन्छ ।’
उपप्रमुखमञ्जु भण्डारी सुवेदीले महान सहिदहरुले प्रजातन्त्र प्राप्ति, गणतन्त्र प्राप्ति र निरंकुशता विरुद्ध लडेको बताए । उनले सहिदका परिवारहरुको अवस्थाको बारेमा पनि राज्यले सोधिखोजी गरिरहनुपर्ने बताइन् ।
अग्रज पत्रकार एवं धरानउपमहानगरपालिकाका सल्लाहकार सदस्य हर्ष सुब्बाले नेपालको युग नै परिवर्तन गरेर चार सहिदहरुलाई सहिदको दर्जा दिएर दिवसको रुपमा मनाउँदै आएको बताए । आन्दोलनमा धरानका ज्ञानदीप श्रेष्ठलगायत द्वन्द्वकालमा धेरै सहिद भएको उनले बताए । नेपालमा गणतन्त्र आउँदासम्म धेरै सहिद भएको उनको भनाइ थियो ।
शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन, बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्दाहरूको सम्झनामा सहिद दिवस मनाइँदै आएको छ ।
एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराजलाई, धर्मभक्तलाई माघ १३ गते सिफलमा र गंगालाल एवं दशरथलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।