धरानः प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा शक्ति प्रदर्शन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति देखाएको हो । प्रदेश १ का विभिन्न जिल्लाबाट भेला भएका कार्यकर्तामाझ नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य योगेश भट्टराई र प्रदेश १ इञ्चार्ज भीम आचार्यलगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्डले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको बताए । उनले आफूहरुलाई प्रतिनिधिसभाको बैठक गर्ने अधिकार संविधानले दिएको भन्दै दाहालले आवश्यक परे प्रतिनिधिसभाको बैठक बोलाउने चेतावनी पनि दिएका छन् ।
संसद विघटन गरेर प्रम ओलीले संविधान विघटनको प्रयास गरेको भन्दै दाहालले जनताका प्रतिनिधिले बनाएको संविधानमाथि हमला गर्नु दुःखद् भएको धारणा राखे । उनले नेपाली जनता जागेको भन्दै ओलीको प्रतिगामी कदम अब धेरै दिन नटिक्ने घोषणा पनि गरे । आन्दोलनले देशव्यापी उभार पाएको बताउँदै उनले भने, ‘अब कसैले फुर्ती नलगाए हुन्छ, सडकबाटै संसद पुनस्थापित गर्छौं ।’
उनले प्रम ओलीको पछाडि सामन्तवादी र राजा महाराजा मात्रै लागेको आरोप लगाए । ‘केपी ओली बेइमान र धूर्त रहेछन् । उनका पछाडि हिजो गणतन्त्रका लागि लड्दा विपक्षमा रहेका राजा महाराजाहरु लागेका छन् । सामन्ती र दलाल पुँजीपतिहरु मात्रै लागेका छन् ।’
नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । उनले गिरिजाप्रसाद कोइराला निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै उहाँ महानायक बन्न सफल भएको भन्दै अब निरंकुशताका अगाडि आफू पनि अन्तिमसम्म लड्ने बताए ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली आफूहरु मूलधारमा रहेको बताए । उनले मूल पार्टी यही भएको कारणले सूर्य चिन्ह पनि आफ्नै हुने दावी गरे ।
‘झलनाथ खनाल यहीँ हुनुहुन्छ, माधव नेपाल यहीँ छु, यो एमालेको मूलधार हो । केपी ओली कहिले एमालेको मूल धार भए ?’ उनले थपे, ‘४४१ केन्द्रीय कमिटीमा ३०० सय जना हामीसँग छन् । केपी ओलीसँग सय जना मात्र छन्, ती विचरा सयजना पनि कहाँ आएर फसियो भन्दैछन् । मूल पार्टी यही हो, सूर्यचिन्ह अरु कसैको हुँदैन ।’

