धरानः बालबालिकालाई सबैभन्दा मनपर्ने खाना गुलियो पदार्थ हो । खानु हुँदैन भनेर जति सम्झाएपछि देखेको खानेकुरा खान नपाएसम्म बालबालिका शान्त रहँदैनन् ।
बालबालिकाको धेरै गुलियो खानेकुरा खाने बानीलाई अभिभावकले नियन्त्रण गर्न नसक्दा उनीहरुको दाँत किराले खाएको छ । पहिलोपटक पलाएको दाँत झर्ने समय नआउँदै किराले खाएर धेरै बालबालिकाको दाँत बिग्रिएको छ । तपाई पनि आफ्ना बालबालिकाको दाँत थोते भएर चिन्तित हुनुभएको होला ।
जहाँ फोहर त्यहा रोग भनेजस्तै खाना खाएपछि बालबालिकाको मुख सफा नगरिदिँदा दाँत किराले खान्छ । मुखमा हुने संक्रामक रोगका कारण पनि दाँत किराले खान्छ ।
गुलियो, टाँसिने र प्रशोधित खाद्यपदार्थ कति धेरै भन्दा पनि कति धेरै पटक, कुन रसायनिक र भौतिक बनावटको, अन्य खाद्यपदार्थसँग वा एक्लै, कुन रुपमा र कसरी सेवन गरिन्छ त्यसले असर पारिरहेको हुन्छ । सबैभन्दा पहिले यो गुलियो कति लामो समयसम्म मुखमा, दाँतमा रहिरहन्छ, त्यहि नै सबैभन्दा हानिकारक कारण हो ।
तसर्थ गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खाना भरिसक्य प्रयोग नगरौं, यदि गर्नु परे खानासँग वा खाना खाईसकेपछि प्रयोग गर्नुपर्छ । गुलियो खानेकुरा खाइसकेपछि दाँत माझ्नुपर्छ ।
सहरी क्षेत्रको ७० देखि ८० सम्म र ग्रामीण क्षेत्रका स्कुलमा ३० देखि ३५ प्रतिशतसम्म बालबालिकाको दाँत किराले खाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार १२ वर्षमुनिका बालबालिकाको दाँत सड्ने समस्या प्रमुख रूपमा देखिएको औंल्याइएको छ । खानपानमा जागरणको अभाव, बालबालिकालाई दुध चुसाउने शैली, दूध पिएपछि मुख सफा नगर्ने बानी, चकलेट आदिले गर्दा यो समस्या बढ्दो छ । खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नकाकण, मुख्यतः गुलियो र स्टार्चलाई बीस मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न यो अम्लले मुखको ¥यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।
–बालबालिकामा दाँत सड्ने समस्याको मुख्य कारण पाउरोटी, बिस्कुट आदिको सेवन र अत्यधिक गुलिया खाद्यहरु चक्लेट मिठाइ आदि रहेको छ । पाउरोटी, चकलेट लगायत दाँतमा टास्सिने खाद्य पदार्थको बढी प्रयोगले किरा लाग्ने समस्या बढ्दो छ ।
–बालबालिकालाई उचित बानी व्यवहार, खानपानलगायत स्वास्थ्यसम्बन्धी सकारात्मक कुरा सिकाएर कीरा लाग्ने समस्या ५० देखि ६० प्रतिशतसम्म घटाउन सकिन्छ ।
–राति सुत्नुअघि र बिहान खाजा, खाना खाएपछि स्कुल जानुअघि दुईपटक दाँत माझ्नुर्ने डाक्टरहरू सुझाउँछन् । खाना खाएपछि मुख पानीले कुल्ला गर्नु पनि मुख स्वास्थ्यको लागि राम्रो उपाय हो ।
–बालबालिकालाई हरेकपटक खाना, खाजा खाएपछि खानेपानीले नै राम्ररी कुल्ला गर्न सिकाउनुपर्छ ।
–दाँतमा अड्किएका खानाका कण कुल्ला गर्दा पखालिएर बाहिर निस्किन्छन् । खाद्यकण दाँतमा नरहँदा दाँतमा किरा लाग्नुका साथै मुख गन्हाउने समस्या समेत हुँदैन ।
–प्रत्येक स्कुलले बालबालिकालाई बिहान(बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ । नरम ब्रसमा फ्लोराइड भएको टुथपेस्ट हालेर दाँत माझ्नु राम्रो हुन्छ । प्रस्तुतिः लक्ष्मण थापा