विराटनगरः झापाको गौरादह नगरपालिका–४ मा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
सोमबार साँझ ६ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१०प ११६७ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको मे४प २२७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका मे१०प ११६७ नम्बरको मोटरसाइकल चालक गौरादह नगरपालिका–५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उता इलाम नगरपालिका–८ मा रहेको माइबेनी हाइड्रोपावरको डयाममा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । सोमबार दिउँसो साढे एक बजेको समयमा सो हाइड्रोमा काम गर्ने कामदारहरु माइजोगमाई गाउँपालिका–५ सोयाङका २० वर्षीय शेखर ढकाल र निजकै भाई १८ वर्षीय प्रविण ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।