धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार आकस्मिकरुपमा आयोजना गरेको आमहड्तालको प्रभाव परेको छ ।
भानुचोकभरी प्रचण्ड–माधवका कार्यकर्ता र ब्यापक प्रहरी परिचालन छन् । केही समयअघि गाडी तोडफोड भएको भन्दै झडप समेत भएको थियो । तर अहिले झडप साम्य भएको छ । केही युवाहरुको समूह भानुचोकमा प्रवेश गर्दै किन गाडी तोडफोड गरेको भन्दै उत्रिएका थिए तर अहिले ती युवा एउटै पार्टीको झगडा पो रहेछ भन्दै आफ्नो बाटो लागिसकेको एक नेताले बताए ।
प्रचण्ड–माधव समूहको युवा संघले मजदुरका नाममा ‘भिजिलान्ते’ प्रयोग भएको भन्दै नाराबाजी समेत गरेको थियो । अहिले सो स्थानमा प्रचण्ड–माधवमा कार्यकर्ता नाराबाजी गरिरहेका छन् ।
केही समयअघि गाडीको शिशा फोडेको भन्दै राष्ट्रिय युवा संघका धरान उपमहानगर सहसंयोजक पक्राउ समेत परेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले गाडीको शिशा फोडेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे । ‘हाम्रा कार्यकर्ताले होइन, कसैले आएर गाडी तोडफोड भएको पाइयो’, आन्दोलन परिचालन समितिका सहसंयोजक चोत्लुङले भने, ‘तर अहिले तपाईहरुले नै गाडी तोडफोड गरेको हो भन्दै केही युवा प्रयोग भएको पाइयो ।’ तामाङको तत्काल रिहाइ हुनुपर्ने उनले बताए ।
धरानमा फाट्टफुट्ट केही सवारी साधन चलेपनि बन्दकर्ताले रोकेर सम्झाएर पठाउने गरेका छन् । अहिले धरानको कहिल्यै बन्द, हड्तालले नछुने धरानस्थित प्रहरी स्कुलबाहेक अन्य शैक्षिक संस्था खुल्न सकेनन् । अन्य यातायातका साधन चलेकै छैनन् । केही समयअघि पसलहरु छिटपुटरुपमा मात्रै खुलपनि अहिले प्रायः बन्द भइसकेका छन् ।
प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याइँको पराकाष्टा भएको जनाउँदै देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको हो ।
तर सरकारले भने आमहड्ताल घोषणा भएपनि सबै व्यवसाय, यातायात सञ्चालन गर्न आग्रह गरेको थियो । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सुरक्षा व्यवस्था मिलाइएको हुँदा आम हड्तालको अवज्ञा गर्दै यातायात, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न आह्वान गरेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज






