धरानः नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिलबहादुर थापाले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।
धरान–१५ स्थित होटल धरान किचनमा आयोजित स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘नेपाली जनताले ल्याएको संविधानलाई रक्षा गर्ने दायित्व कांग्रेसको काँधमा आएको छ’, उनले भने, ‘यसका लागि कांग्रेस दह्रो भएर लाग्नुपर्छ ।’
उनले चुनावको कुरा भइरहेको बताउँदै कोहीपनि चुनावबाट भाग्न नहुने पनि बताए । ‘प्रमले गरेका असंवैधानिक कदमको हामीले विरोध गरेका छौं, कोही चुनावमा जानुपर्छ भनिरहेका छन् भने कोही चुनाव हुर्नुहुँदैन, सडकबाटै संसद पुनस्थापित गर्नुपर्छ, दुवै कुरा सही हो’, उनले थपे, ‘आज चुनावहरुको पनि कुरा भइरहेको छ, चुनावबाट भाग्न पनि हुँदैन, चुनाव भनेको नेपाली कांग्रेसको प्रजातान्त्रिक शक्तिको आत्मा हो, त्यसैले नयाँ र ताजा जनमत लिन पनि हामी तयार हुनुपर्छ ।’
कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप थियो । स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रम पनि आयोजना भएको थियो ।
दोर्ची शेर्पाको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । जसको उपाध्यक्षमा तेजबहादुर पुरी, सचिवमा लघु सुवेदी, सहसचिवमा सौदगार शाह, कोषाध्यक्षमा निरु गुरुङ चयन भएका थिए ।
यस्तै, सदस्यहरुमा अशोक मेहता, विकास सोनी, लोकराज बस्नेत, प्रदीप गहतराज, मञ्जु केसी, पारस राई, रुपेश भट्टराई, संगीता राई, सागर पोखरेल, विवेक घिमिरे, सविन चौलागाईं, नविन श्रेष्ठ, कुन्दन मण्डल, दिलीप स्वर्णकार, समीर राई, सनम श्रेष्ठ, मेघधन राई चयन भएका छन् ।
प्रदेश नं. १ का अध्यक्ष एवम् प्राचार्य विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष एवं नेविसंघका निवर्तमान अध्यक्ष नयनसिंह महर, केन्द्रीय सदस्य मीना सुब्बा, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र तामाङ, मेयर तिलक राई, विदेश विभाग युके बेलायतका अध्यक्ष युवराज गुरुङलगायतले बोलेका थिए ।
कार्यक्रममा पत्रकार एवं मेयरका प्रेस संयोजक पारस राईलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिएको थियो ।
तस्वीरहरुः लक्ष्मण थापा
















