फुङलिङः शुक्रबारदेखि ताप्लेजुङका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिउँले पानी जमेपछि विद्युतगृह बन्द भएसँगै घुन्सा गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । अहिले ताप्लेजुङ जिल्लाका अधिकांश क्षेत्र हिउँले सेताम्मे भएका छन् ।
शुक्रबारदेखि आजसम्म पनि हिमपात भइरहेको घुन्सा गाउँका स्थनीयवासी केल्साङ शेर्पाले जानकारी दिए । ‘शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब ३ फुटसम्म हिउँ जमेको छ ।’, उनले भने । सबैतिर शिशाझंै हिउँ जमेको शेर्पाले बताए । विद्युतका लागि निर्माण गरिएको पोखरीमा हिउँ र चिसोले पानी शिशाजस्तै जमेपछि विद्युतगृहमा विद्युत उत्पादन बन्द भएको शेपाले बताए । ३५ किलोवाटको घुन्सा विद्युत बन्द हुँदा गाउँ नै अन्धकारमा रहेको शेर्पाले जानकारी दिए ।
पानीका मुहानहरु सबै जमेपछि खानेपानी समेत समस्या परेको उनले बताए । ‘चिसोको कारणले घरदेखि बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ, जनजीवन निकै प्रभावित भएको छ’, शेर्पाले भने । चौरी र गाइवस्तु हिउँ कम पर्ने ठाउँतिर झारेको फले निवासी लाक्पा भोटियाले बताए ।
घुन्सा गाउँ समुन्द्र सतहदेखि ३ हजार ५०० मिटर उचाइमा पर्दछ । यस्तै, समुन्द्र सतहदेखि ३ हजार २०० मिटर ओलाङचुङगोला र समुन्द्र सतहदेखि ४ हजार २०० मिटर उचाइका याङमा गाउँ पर्दछ । वस्तीहरुमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका ६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ ।
सिरिजंघा गाउँपालिकाको याम्फुदिनमा पनि हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीय कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा पनि शुक्रबारदेखि हिमपात भएको रिङ शेर्पाले बताए । ताप्लेजुङमा बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ ।

