धरानः धरान–६ स्थित पानबारीमा एक वृद्धको घाँटी रेटेर सुन लुटिएको छ ।
७५ वर्षीय जयमाया लिम्बू घरमा बसिरहेको अवस्थामा उनीमाथि घाँटीको अघिल्लो भागमा काटिएको हो । भोगटे खाने निहुँले घरमा छिरेका अज्ञात व्यक्तिले उनीमाथि एक्कासी घाँटीमा चक्कु (धारिलो हतियार) प्रहार गरेको स्थानीयबासी लक्ष्मण घिमिरेले जानकारी दिए । छोरी सर्मिला लिम्बूले घरमा बसिरहेको अवस्थामा केही खाने निहुँले छिरेको र उनीमाथि आक्रमण गरेको बताइन् । उनका अनुसार छोराबुहारी पनि घरमा नभएको मौकामा यस्तो घटना घटेको हो । ‘दाजु–भाउजु पनि घरमा नभएको बेलामा एक्लै पारी आक्रमण गरेका रहेछन्’, उनले भनिन्, ‘कानमा लगाएको र सुनको सिक्री गरेर दुई तोला बढी सुन लुटेर पनि भागेछन् ।’
पानवारीको तल्लोबाटो कल्भर्ट नजिकै बाटोको माथिल्लो पट्टि घरमा बसिरहेको अवस्थामा आक्रमण भएको थियो । परिवारका सदस्यले थाहा पाउँदा वृद्धा लिम्बू सख्त घाइते अवस्थामा रहेकी थिइन् । पानवारी प्रहरी इञ्चार्ज भेषबहादुर राउतले वृद्धा लिम्बूको घाँटीको अगाडिको भागमा काटेको अवस्थामा फेला पारेको जानकारी दिए । उनका अनुसार उनलाई तत्कालै टेम्पो रिजर्भ गरे धरानस्थित बीपी प्रतिष्ठान ल्याइएको थियो । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको घाँटीको अघिल्लो भागमा गहिरो चोट लागेको छ ।
प्रहरीका अनुसार आक्रमण कसले गरयो भन्ने खुलिको छैन । घटना साढे १ बजे भएको हो । यसअघि पानबारीमा निशान बचत तथा क्रण सहकारी संस्थाको पनि १५ लाखभन्दा बढी रकम लक्कर फोडेर चोरी भएको थियो । चोरीमा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले डग ल्याएर अनुसन्धान थालिसकिएको जानकारी दिए ।

