धरानः धरानमा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँकीलाई पक्राउ गरेपछि विरोध गरिएको छ ।
समूहनिकट अनेरास्ववियुले छाताचोकमा विरोध प्रदर्शन गरेको हो । सरकार के बोल्न पाइँदैन, बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ, झाँक्रीलाई रिहाइ गरलगायतका प्ले कार्ड बोकेर युवा विद्यार्थीहरु सडकमा निस्किएका थिए । पार्टी कार्यालयबाट रयाली निस्केको हो । अधिकांशको मुखमा कालो टेप बाँधिएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य, सुनसरी जिल्ला सहइन्चार्ज तथा धरान नगर इन्चार्ज हरि लिम्बू, केन्द्रीय सदस्य हिमाल लिम्बूलगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य हरिले सरकारले प्रतिगमन लादिरहेको अवस्थामा फेरि रामकुमारीजस्तालाई पक्राउ गरेर थप प्रतिगमनतर्फ उन्मुख भएको बताए ।
यसैबीच बिहीबार दिउँसो एक बजे पक्राउ परेकी नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी समेत रहेकी झाँक्री ५ घण्टापछि रिहा भएकी छिन् ।
उनलाई प्रहरीले साँझ रिहा गरेको हो । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो । प्रहरीले उनलाई शंखमुलस्थित उनको निवासबाटै पक्राउ गरेको थियो । झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि झाँक्रीले सो विघटनलाई तत्काल अनुमोदन गर्ने राष्ट्रपति र सो कदमको समर्थन गर्नेप्रति कडा आलोचना गर्दै आएकी छन् ।
उनले केही दिन पहिले गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा राष्ट्रपतिलाई सो पद र राष्ट्रकै सर्वोच्च संस्थाको गरिमा कायम राख्न आग्रह गरेकी थिइन् । तस्वीरहरुः हाम्रो कोशी आवाज






