धरानः धरानमा कपडा सिलाइमा पनि कमिशनको खेल भएको भन्दै सिलाइ व्यवसायी आन्दोलित बनेका छन् ।
सिलाइको कमिशन तथा प्रथाविरुद्ध व्यवसायी आन्दोलित बनेका हुन् । व्यवसायीले धरानमा विरोध जुलुस निकालेका छन् । पब्लिक हाइस्कुलअगाडिबाट निस्किएको रयाली भानुचोकमा पुगेर टुंगिएको थियो । नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ, प्रदेश १ समन्वय समितिको अगुवाइमा विरोधसभा आयोजना भएको हो ।
व्यवसायी फिरोज अलीले धरानमा सिलाइमा कमिशन प्रथा कायमै रहेकोले आन्दोलनमा उत्रिनुपरेको बताए । जुनसुकै कपडा सिलाउँदा पनि कमिशन नै लिइरहने प्रथा अझै कायमै रहेकोले यो प्रथा चिर्नका लागि व्यवसायी लागिपरेको उनले बताए । ‘विशेषतः स्कुललगायत अन्य सिलाइमा व्यवसायीलाई कमिशन नदिइकन हाम्रो कामै बन्दैन’, महासंघका निवर्तमान अध्यक्ष इम्तियाज अलीले भने, ‘श्रम र सीपको सम्मान गरौं, कमिशनखोरको विरोध गरौं भनेर सडकमा आएका हौं ।’
व्यवसायीले सिलाइको कमिशन प्रथा बन्द गरे, आफ्नो टेलर्स आफैं रोजौं, श्रम र सीपको सम्मान गरौं, कमिमशन खोरको विरोध गरौं, श्रमजीवीवर्ग टेलर व्यवसायी एक होऔं, कमिशनतन्त्र मुर्दावाद, स्कुलको सिलाइ कमिशन बन्द गरे, उपभोक्तालाई मार्ने काम बन्द गरलगायतका प्लेकार्ड बोकेर सडकमा निस्किएका थिए ।
कपडा पसलले टेलर्समा पठाउँदा टेलर्स सञ्चालकबाट कमिसन लिने र टेलर्स सञ्चालकले कपडा किन्ने ग्राहक पठाएबापत कमिसन लिने गर्दै आएको उनले बताए । कपडा पसलले र टेलर्सले कमिसन लिने र दिने गरेको उनीहरु बताउँछन् । ‘प्रायः सबै कपडा पसलेले कमिसन लिन्छन्,’ उनले भने । उनले कमिसन दिनु बाध्यता रहेको बताए । तस्वीरहरुः लक्ष्मण थापा






