धरानः धरानमा अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिताको तयारी थालिएको छ ।
एमसी ग्ल्यामर इन्टरटेण्टमेन्ट धरानको आयोजनामा ‘मिस लुमियर नेपाल २०२१’ नामकाके सौन्दर्य प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताका बिजेताले नगद एक लाख रुपैयाँ साथै हङकङ र सिङ्गापुरमा आयोजना हुने ३५ देशका प्रतिस्पर्धी सहभागी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता ‘मिस लुमियर इन्टरनेशनलमा पनि भाग लिन पाउने आयोजकले जनाएको छ ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको सञ्चालिका सरला श्रेष्ठले जानकारी दिइन् । ‘खासमा साँच्चै भन्ने हो भने धरान, प्रदेश १ र देशलाई नै विदेशसम्म चिनोस् र काठमाडौं केन्द्रित हुने यस्ता प्रतियोगिता धरानमै पनि आयोजना होस् भन्ने हेतुले यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो ।’ उनले भनिन् ।
प्रतियोगिताको अडिसन नेपालभरका ८ सहरमा आयोजना हुनेछ । काठमाडौं, पोखरा, हेटौंडा, दमक, इलाम, धनकुटा, इटहरी र फाइनल धरानमा हुने उनले जानकारी दिइन् । विशेषतः चैतको दोस्रो सातादेखि अडिसन थालिने र जेठ १ गते फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् । यस्तै, वैशाख २ गतेदेखि एक महिनाको तालिमपश्चात् फाइनल प्रतियोगिता आयोजना हुने उनले जानकारी दिइन् ।
सञ्चालिकामध्येकी सिमरन श्रेष्ठले प्रतियोगिताको फाइनल राउण्डमा एकजना विदेशकै ‘जज’ ल्याइने र अन्य नेपालकै जज रहने जानकारी दिइन् । ‘धेरैजसो प्रतियोगिता काठमाडौं केन्द्रित छन्, योङ टयालेन्टले काठमाडौं पुगेर प्रतियोगितामा भाग लिन नपाउने समेत अवस्था छ, त्यसैले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको इभेण्ट धरानमै आयोजना गरौं भन्ने हो’, सञ्चालिकामध्येकी सिमरन श्रेष्ठले थपिन्, ‘फाइनलमा विदेशबाट एकजना र अन्य स्वदेशकै निर्णायक रहनेछन् ।’
उनका अनुसार प्रतियोगिताका लागि १८ देखि ३० वर्ष उमेर समूहका युवतीले भाग लिन पाउनेछन् भनने ५ फिटदेखि माथि उचाइ भएको हुनुपर्नेछ ।
‘युवायुवती र महिलाका लागि कन्फिडेन्ट लेवल बढाउन, व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा महत्वपूर्ण छ भन्ने मेरो अनुभव छ’, मिस पूर्वाञ्चलको फस्ट रनरअप २०१७ र मिस लुमियर इन्टरनेशनल २०१९ की विजेता समेत उनले भनिन्, ‘त्यसैले बिजेता बन्न र व्यक्तित्व विकासका लागि पनि यस्तो प्रतियोगितामा भाग लिऔं ।’
उनले बिजेतादेखि टप ५ मा पर्न सफललाई मिस नेपालमा पनि भाग लिन पाउने जानकारी गराइन् ।










