Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरमा महिला दिवस

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
धरान उपमहानगरमा महिला दिवस

धरानः धरानमा महिला दिवस मनाइएको छ । १११ औं श्रमिक महिला दिवसका अवसरमा विविध कार्यक्रम भएका हुन् ।
राष्ट्रिय नाराः महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ मूल नाराका साथ धरान उपमहानगरपालिकाले पनि दिवस मनाएको छ ।
मूल आयोजक उपमहानगर र सहआयोजना धरान महिला सञ्जाल रहेको थियो । उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा बोल्दै मेयर तिलक राईले घरपरिवारदेखि समाज र राष्ट्रका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए । आफ्नो कार्यकालमा महिलाका मुद्दा र बजेटजस्ता कुरामा विशेष जोड दिने उनले प्रतिबद्धता जनाए । ‘मलाई कताकता के लाग्छ भने एउटा उमेरमा आएर पुरुषहरुले सम्झन्छ जस्तो लाग्छ मलाई, के भन्दा जो बाल्यकालमा आफ्नो छोराछोरीसँग विविध कारणले गर्दा टाढा हुन्छन् पुरुषहरु, विविध कारणले गर्दा टाढा हुनुपर्छ, आफ्नो छोराछोरीको बाल्य अवस्था भन्दा बाहिर, त्यो सम्पूर्ण हिसाब उसको आमाले जिम्मेवारी पूरा गर्छ ।’ उनले भने ।
कार्यक्रममा धरानमा रही विभिन्न कार्यमा आफ्नो श्रम गरेर खाने ५ महिलालाई नगद, प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको थियो । हरियो मकै पोलेर बेच्ने धरान–१३ कि शिवकुमारी तामाङ, डोकोमा सब्जी बेची हिँड्ने धरान–८ कि विष्णुमाया कट्वाल छिन् । यस्तै, धरान–६ की तरकारी व्यापारी मैया गौतम र लेबर काम गर्ने धरान–१५ की लक्ष्मी तामाङलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले सम्मान पत्रसहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । यस्तै, कोरोना महामारीको समयमा स्वाब संकलनमा फ्रन्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि नगद सहितसम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा समान कामको समान ज्याला दिन प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ । सो प्रतिबद्धता पत्रमा मेयर, उपमेयर, निर्माण व्यवसायी संघ, महिला अधिकारकर्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
उपमेयर मञ्जु भण्डारीले धरानलाई बालमैत्री वडा घोषणा गरे पनि आमाबुबासँग हिँडेका बालबालिका काखमा निदाउने गरेको बताउँदै बालबालिका सुताउने ठाउँ नभएको बताइन् । स्तनपानको लागि छुट्टै व्यवस्था नभएकाले यसतर्फ पनि सहज वातावरण बनाउन लागि पर्ने उनको भनाई थियो । उनले श्रमिक महिलाहरुलाई समान कामको समान ज्याला दिन पनि आग्रह गरे ।
निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बूले महिलाहरुलाई समान कामको समान ज्याला दिने प्रतिबद्धता व्यक्त गरे । प्राध्यापक रुकमनी श्रेष्ठ, मिना पुलामी, पूर्व सांसद एवं साहित्यकार कुन्ता शर्मा, नेकपा एमाले धरानका उपाध्यक्ष सविता चाम्लिङ, नेपाली कांग्रेस धरानका महिला विभाग प्रमुख पञ्चकला राई, संघीय लिम्बुवान महिला मञ्चकी अध्यक्ष सरस्वती सुब्बा, क्यूपेक नेपाल सुनसरीका अध्यक्ष बाल कुमार श्रेष्ठ, जनता समाजवादी धरानका उपाध्यक्ष विना पुमा राई, महिला सञ्जालकी उपाध्यक्ष कोपिला भट्टराई गौतमले लगायत महिला अधिकारकर्मीले समान कामको समान ज्याला दिन आग्रह गरेका छन् ।
अधिकांश महिला वक्ताहरुले राज्यको सम्पूर्ण निकायमा महिलाको ५० प्रतिशत नै अधिकार सुनिश्चित हुनुपर्ने धारणा समेत राखेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend