धरानः धरानमा भोलिदेखि दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव-२०७७ हुने भएको छ ।
महोत्सव मूल आयोजक समितिकाअनुसार २८ र २९ गते यस्तो महोत्सव हुन लागेको हो । समितिले धरानमा पत्रकार सम्मेलनमार्फत् सबै तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक बम देवानले सबै तयारी पूरा भएको जानकारी दिए ।
उनका अनुसार भारतका ३५ र देशभरका १ सय २५ जना गरी १ सय ६० कवि तथा साहित्यकारहरूको महोत्सवमा सहभागिता रहनेछ । महोत्सवमा भारतका मनिपुर, सिक्किम, सिलगुढी, मिसामारी, मिरिक, सौरेनी, डुवर्स, कालिम्पोङ, खर्साङ, गुवाहाटी, आसामलगायत स्थानबाट कवि, साहित्यकारहरुको सहभागिता रहनेछ ।
धरानको लक्ष्मीचोकमा रहेको धरान बैङक्वेटमा हुने कार्यक्रममा पहिलो दिन कवि तथा साहित्यकारलाई धरानका मेयर तिलक राईसहितको टोलीले छाताचोकमा विभिन्न जातजातिको झाँकीसहित स्वागत गरिने र छाताचोकदेखि कार्यक्रमस्थलसम्म रयाली आयोजना गरिने धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ।
महोत्सवको उद्धघाटन प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उप्रेतीले गर्नेछन् भने प्रदेश १ का कानुनमन्त्री हिक्मत कार्कीले समापन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा प्रा.डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल तथा भारतका कवि तथा कवयत्रीहरुले कविता वाचन गर्नेछन् । यसैगरी महोत्सवमा नेपालका दुईजना र भारतका दुईजना स्रष्टाहरुलाई सम्मान समेत गरिने आयोजक १३ नं वडाका अध्यक्ष काफ्लेले जानकारी दिए ।
महोत्सव सम्पन्न गर्न १० लाख खर्च हुने आयोजकले जनाएको छ । जसका लागि स्थानीय तहदेखि प्रदेश सरकारसम्मलाई अनुरोध गरिएको र सबै सकारात्मक रहेको उनले जानकारी दिए ।
महोत्सवले धरान नगर तथा नगरको साहित्य कला र संस्कृतिको पहिचानलाई देशभित्रै एवं अन्तर्राष्ट्रिय क्षेत्रमा पुरयाउने अभियानको थालिनी समेत हुने जनाइएको छ । महोत्सवमा आगन्तुक साहित्यकारहरूलाई धरानका पर्यटकीय क्षेत्रहरूको अवलोकन गराएर साहित्यको माध्यमबाट धरानको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाइने पनि वडाध्यक्ष काफ्लेले बताए ।