धरानः धरानमा दुईदिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ शुरु भएको छ ।
शुक्रबार र शनिबार दुईदिनसम्म महोत्सव चल्नेछ । धरानस्थित छाताचोकबाट देशभर र भारतबाट समेत आइपुगेका साहित्यकारहरुलाई भव्य स्वागत गरेर कार्यक्रमस्थलसम्म पुरयाइएको थियो । कार्यक्रम धरान लक्ष्मीचोकमा रहेको धरान बैङक्वेटमा आयोजना भइरहेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद उमिता बराइली, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, साहित्यकला संस्कृति प्रतिष्ठानका सल्लाहकार प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. गोपाल भण्डारी, सहप्राध्यापक शरणकुमार राई, कुन्ता शर्मालगायत देशभर र भारतका समेतका साहित्यकारहरुको जमघट रहेको छ ।
कार्यक्रममा सबैलाई स्वागत गर्दै आयोजक संस्था धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले जनप्रतिनिधिले पुल, पुलेसा, बाटोघाटोलगायत अन्य विकासका कार्यमा मात्र ध्यान नदिइ संस्कार, संस्कृति, कला साहित्यको श्रीवृद्धिमा पनि यहाँका जनप्रतिनिधिले ध्यान दिएको बताए । ‘हामीले भौतिक पूर्वाधारमा मात्र ध्यान नदिई बौद्धिक विकासमा पनि ध्यान दिने प्रयास गरेका हौं’, उनले भने ।
महोत्सव मूल आयोजक समितिका संयोजक बम देवानले महोत्सवमा नेपालका साहित्यकारहरुसँगै भारतको मनिपुर, सिक्किम, सिलगुढी, मिसामारी, मिरिक, सौरेनी, डुवर्स, कालिम्पोङ, खर्साङ, गुवाहाटी, आसाम लगायत विभिन्न स्थानबाट नेपालीमूलका भारतीय साहित्यकारहरुको पनि सहभागिता रहेको जानकारी दिए ।
महोत्सवमा डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्तुत गर्दैछन् भने नेपाल तथा भारतका कवि तथा कवयत्रीहरुको कविता वाचन पनि हुनेछ । यसैगरी महोत्सवमा नेपालका दुईजना र भारतका दुईजना स्रष्टाहरुलाई सम्मान गरिएको छ ।
आयोजकले महोत्सवका क्रममा धरानको साहित्यिक तथा पर्यटकीय विकासमा योगदान दिन देश–विदेशका विभिन्न स्रस्टाहरुसंँग कलाको आदानप्रदान, सिर्जना माथि अन्र्तक्रिया, सांस्कृतिक र कलाको अनुशीलनसहित साहित्यिक विमर्श र परिभ्रमण कार्यक्रम गरिने जनाएको छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज









