धरानः धरान जेसीजले बैठक आयोजना सम्बन्धमा संसदीय सभा प्रणाली तालिम आयोजना गरेको छ ।
धरान जेसीजलगायत अन्य शाखाहरुका अध्यक्ष तथा पदाधिकारीलाई दिइएको तालिमका प्रमुख प्रशिक्षक राजविमल श्रेष्ठ रहेका थिए । बैठक के हो ? र किन गरिन्छ ?, बैठक कति प्रकारको हुन्छन् ? बैठक सञ्चालन गर्ने विधिहरु तथा बैठकमा आवश्यक पर्ने कुराहरु लगायतका विषयमा आयोजित तालिमले सहभागीहरुलाई निकै ज्ञान भएको उर्लाबारी जेसीजका अध्यक्षका अध्यक्ष अशोक धिमालले बताए ।
विराटनगर, उर्लाबारी, इटहरी, इटहरी लेडी, दुहबी, झुम्का, धनकुटालगायतका जेसीजहरुका अध्यक्ष र पदाधिकारीहरु संलग्न सो तालिममा प्रशिक्षकका रुपमा मोहन श्रेष्ठ र गौरव सञ्जेल रहेका थिए ।
नेपाल जेसीजको क्षेत्रीय तालिम प्रतिष्ठान धरानमा रहेको र धरान जेसीजले हरेक वर्ष यस्ता तालिमहरु आयोजना गर्ने गरेको धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीले बताए । जेसीजका सदस्यहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि तालिमका नै उत्तम माध्यम रहेको अधिकारी बताउँछन् । स्टार पूर्वी होटलमा आयोजित तालिममा ३२ जना सहभागी रहेका थिए भने औपचारिक कार्यक्रमको सञ्चालन धरान जेसीजका महासचिव कृष्ण केसी शर्माले गरेका थिए ।