उदयपुरः उदयपुरको कटारी नगरपालिका–१० का सुजन थापाको तीन वर्षीय छोरा अरबिन्द्र थापाको आगोले जलेर मृत्यु भएको छ ।
आइतबार साँझ ६ बजेको समयमा घर निजकै रहेको परालको कुन्युमा अचानक आगलागी हुँदा घरसमेत सल्किएको थियो । आगलागीबाट घरमा समेत आगो सल्किदा घर भित्र रहेका बालकको आगोले जलेर मृत्यु भएको हो ।
आगलागीबाट थापाको २ तले कच्ची घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ता–कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, घर नजिकै रहेको मतान घर, बाख्राको गोठ र २ वटा बाख्राको पाठासमेत जलेर नष्ट हुँदा अन्दाजी ३० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
आगलागीबाट छिमेकी प्रकाश थापाको समेत घरमा आगलागी भई जलेर नष्ट हुँदा निजको घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुनचाँदी, घर नजिकै रहेको मतान घर, २ वटा बाख्राको पाठा र भैंसीको पाडो समेत जलेर नष्ट हुँदा अन्दाजी २८ लाख बराबरको क्षति भएको तथा अर्का छिमेकी मेखबहादुर थापाको समेत घर पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको हो ।
आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुका सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।