धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले चाहँदैमा नयाँ सरकार गठन भइहाल्ने अवस्था नरहेको बताएका छन् ।
५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धरानमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री बन्ने वा नबन्ने भन्ने विषयमा चियोचर्चो भइरहेको उल्लेख गर्दै बहुमतको सरकार रहञ्जेल कांग्रेस प्रतिपक्षकै भूमिकामा रहिरहने पनि बताए ।
उनले अदालतको आदेशपछि नेकपा दुईवटै रहेको (एमाले र माओवादी केन्द्र) मा विभाजित भएपनि प्रचण्डले सरकारको समर्थन फिर्ता नलिएकोले बहुमतको संयुक्त सरकार नै भएको बताए । ‘माओवादी केन्द्रले आफ्ना मन्त्रीहरु फिर्ता नबोलाएको अवस्था छ, त्यस्तै, ओलीले पनि नहटाएकै अवस्था छ’, उनले भने, ‘त्यही भएर अहिलेको दुईवटा पार्टीको सरकार भएपनि बहुमत सरकार हो, जबसम्म बहुमतको सरकार रहन्छ, तबसम्म हामी सरकारमा जाने दृष्टता गर्दैनौं’, हामी त विपक्षी पार्टीको मान्छे हो नि ।’
उनले विजयकुमार गच्छदार अन्यायमा परेको पनि सन्दर्भ उठाए । उनले गच्छदारले न्याय पाएरै छाड्ने पनि ठोकुवा गरे । ‘खासमा भन्ने हो भने राज्यसत्ताले कांग्रेसका नेता–कार्यकर्तालाई अनाहकमा थुन्ने र मुद्दा चलाउने षडयन्त्र गर्दै आएको छ’, उनले भने, ‘प्रहरी प्रशासन कम्युनिष्टको कार्यकर्ता मात्रै बनेका छन्, उनीहरुले जनताले तिरेको करले तलब खान्छन्, तर पार्टीको काम गर्न पाइन्छ, यसो हो भने हामी छाड्दैनौ, छाड्दैनौं, छाड्दैनौं ।’
उनले दलित समुदायको मत निर्णायक रहेकाले चुनावमा दलितले जता मत दियो उही पार्टीले जित्दै आएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मालगायतले पनि बोलेका थिए । कार्यक्रममा बराहक्षेत्रबाट दुई दर्जन बढी नेता–कार्यकर्ता एमाले, माओवादी त्यागेर कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा धरानका मेयर तिलक राई, बराह ग्रुपलगायतलाई सम्मान समेत गरिएको थियो ।
तस्वीरः हाम्रो कोशी आवाज

















