नेकपामा शक्ति संघर्ष चर्किँदै गएपछि पुस ५ पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेपछि नेकपाका दुई गुटको बैठक बस्यो र फरक फरक निर्णय भयो । प्रचण्ड–माधव समूहले कार्की ब्यांक्वेटमा गरेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाउँदै माधव नेपाललाई नयाँ अध्यक्ष बनायो भने प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेर महाधिवेशन आयोजक कमिटी बनायो । र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीपकुमार ज्ञवालीलाई प्रवक्ता बनायो ।
दुवै गुटका नेताहरुले आ–आफ्नो बैठकमा एकअर्काको बैठकलाई अवैधानिक भनेका छन् । तर, पार्टी विभाजनको घोषणा भने गरिसकेका छैनन् । नेपालमा कम्यनिष्ट पार्टी विभाजन भएको यो पहिलो घटना भने होइन । दर्जन पटक नेपालमा कम्युनिष्ट पार्टीको विभाजन भइसकेको छ । २००६ सालमा स्थापना भएको नेकपामा त्यसयता फुट र जुटको लामो इतिहास छ ।
पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी नेकपाका संस्थापक नेता हुन् । पहिलोपटक नेकपा राजा महेन्द्रको ‘कू’ पछि विभाजन भएको हो । तत्कालीन नेकपा महासचिव केशरजंग रायमाझीले राजाको कदमलाई स्वीकार गरेपछि तत्कालीन नेताहरु पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मोहनविक्रम सिंह र तुलशीलाल अमात्य अलग्गिएका थिए। महेन्द्रको ‘कू’ पछि निष्प्रभावी बनेका कम्युनिस्ट २०२३ पछि मेची कोशी प्रान्तीय कमिटी र केशरजंगको समूहबीच विभाजन भयो । २०२४ मा पुष्पलाले नेकपाको तेस्रो महाधिवेशन गराए । त्यो पनि २०२५ मा विभाजन भयो । पुष्पलाल र तुलशीललाबीच विभाजन भएको थियो ।
त्यसपनि दुईवटा कम्युनिष्ट धार देखिए । सीपी मैनालीले नेतृत्व गरेको झापा जिल्ला कमिटी र मोहनविक्रम सिंहले नेतृत्व गरेको केन्द्रीय न्यूक्लियस । २०३५ मा नेकपाका संस्थापक पुष्पलालको निधन भयो। यहीबीचमा मदन भण्डारी वामदेव गौतहरुले मुक्ति मोर्चा गठन गरेका थिए । उता झापा जिल्ला कमिटीले आफूलाई रुपान्तरण गरेर अखिल नेपाल कोअर्डिनेशन कमिटी बनाएको थियो, जुन २०३५ मा सीपी मैनालीको नेतृत्वमा नेकपा (माले) का रुपमा पार्टी बन्यो ।
२०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (मनमोहन) गठन गरियो । पुष्पलालको निधनपछि उनले नेतृत्व गरेको नेकपालाई उनकी श्रीमती सहाना प्रधानलगायतले चलाए, जसको २०४३ मा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो। र यो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) राखियो ।
२०४६ सालमा माले र माक्र्सवादीसहित साना कम्युनिस्ट पार्टी मिलेर बाम मोर्चा बन्यो, जसको नेतृत्व सहाना प्रधानले गरिन् । यही वाममोर्चा र काँग्रेस मिलेर २०४६ सालको जन आन्दोलन गरेका थिए, जुन सफल पनि भयो । जनआन्दोलन सफल भएपछि माले र माक्र्सवादीबीच पार्टी एकता एभर नेकपा (एमाले)को जन्म भयो । महासचिव मदन भण्डारी भए। जसले जनताको बहुदीय जनवाद सिद्धान्त ल्याएर कम्युनिष्ट पार्टीलाई पनि बहुदलीय प्रतिष्प्रधामा जान बाटो खोले ।
२०५४ मा महाकाली सन्धीलाई लिएर नेकपा (एमाले)मा विवाद भयो । जसले गर्दा वामदेव गौतम, सीपी मैनाली लगायतले पार्टी विभाजन गरेर नेकपा (माले) बनाए । नेकपा माले अझै अस्तित्वमा छ । वामदेव भने विभाजनको पाँच वर्षपछि एमालेमै फर्किए । एमालेसम्मको विकासक्रम यता हुँदा अर्कोतर्फ पनि अर्को कम्युनिस्ट घटकमा पनि उथलपुथल भइरहेको थियो । मनमोहन सिंहको चौथो महाधिवेशन २०४० मा विभाजन भयो । निर्मल लामाले सो विभाजन ल्याएका थिए । लामाको नेतृत्वमा नेकपा (चौम) र मोहन विक्रम सिंहको नेतृत्वमा नेकपा मसाल पार्टी गठन भयो । मसालको पाँचौ महाधिवेशनपछि मसालमा पनि विभाजनहरु भए ।
२०४१ मा मोहन विक्रमसिंहले पार्टी विभाजन गर े। र नेकपा मसाल नामको पार्टी गठन गरे । अर्कोतर्फ नेकपा मशालको नेतृत्व मोहन वैद्य किरणले गरेका थिए ।
२०४५ सालमा नेकपा मशालको महामन्त्री पुष्पकमल दाहाल प्रचण्ड बने । चौथो महाधिवेशनबाट बनेका मशालहरु फुट्दै विभिन्न पार्टीका रुपमा उदाय । यी पार्टीहरु २०४६ सालमा बनेको वाम मोर्चामा भने सहभागी भएनन्। उनीहरुको छुट्टै मोर्चा बन्यो । नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए ।
बहुदलपछि प्रचण्डले नेतृत्व गरेको मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाइयो । मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए । २०५१ मा यो पार्टीमा पनि विभाजन आयो। प्रचण्डको नेतृत्वमा एकता केन्द्रको नाम परिवर्तन गरेर नेकपा माओवादी राखियो । जसले १० वर्षे सशस्त्र द्वन्द्व गरयो । उता निर्मल लामाले पार्टी नै छोडे ।
नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेलहरुले छुट्टै पार्टी नेकपा (एकता केन्द्र) बनाए । २०५९ मा मोहनविक्रम सिंहको नेकपा मसाल र नारायणकाजीको एकता केन्द्रबीच एकीकरण भयो । यो पार्टी फेरि २०६३ मा विभाजन भयो । नारायाण्काजीहरु नेकपा माओवादीसँग पार्टी एकतामा गए । शान्ति प्रक्रिया शुरु भइसकेपछि नारायणकाजीको माओवादी प्रवेशपछि पार्टीको नाम नेकपा एमाओवादी भयो । जसको नेतृत्व प्रचण्डले गरे। त्यसपछि यो पार्टीमा चित्रबहादुर केसीसँग असहमति राख्ने डिलाराम आचार्यहरु पनि मिसिए। यसपछि यो पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भयो ।
यसैबीचमा मोहन वैद्य किरणले नेकपा (माओवादी केन्द्र) मा पनि विभाजन गरे । उनले क्रान्तिकारी माओवादी पार्टी गठन गरे। यो पार्टीबाट पनि छुट्टिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा भुमिगत छ, जसमाथि सरकारले प्रतिबन्ध लगाएको छ ।
यसपछि केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा (एमाले) र प्रचण्डले नेतृत्व गरेको (माओवादी केन्द्र) बीच २०७४ को आम निर्वाचनमा चुनावी गठबन्धन भयो । गठबन्धन भारी बहुमतका साथ विजय भएपछि २०७५ जेठ ३ गते यी दुई पार्टीबीच एकता भएर नेकपा (नेकपा)को जन्म भयो । जुन अहिले विभाजन भएका छ तर विभाजनको घोषणा गरिएको छैन ।
मुख्य पक्ष भनेको आजको दिनसम्म नेपालमा गरिब, किसान, मजदुरलगाएत गरिखाने बर्गको हितमा सरकार नबनेको अवस्थामा कम्युनिष्टहरुको माक्सवाद र लेनिनवादको सिद्धान्तमा संकट आएको स्पष्ट देखिन्छ ।
सन् १९४९ अप्रिल २२ का दिन गठन भएको नेपाल कम्युनिष्ट पार्टीको घोषणा–पत्र सन् १९४९ सेप्टेम्वर १५ मा जारी गरिएको थियो । दुई भिन्न मितिबाट संस्थागत हुदै आएको नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरु पुष्पलाल र मोहनविक्रम सिंहको भिन्ना भिन्नै जनवादी कार्यक्रमहरुले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न सक्दैन भनेर क्रमश मदन भण्डारी र पुष्पकमल दाहालले विद्रोहका साथ नया पार्टी स्थापना गरि नया शिराबाट सुरु गरेको प्रतिफल स्वरुपअन्तत सत्ताधारीको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन भएको हो ।
बि.सं. २०४६ साल अगाडीको कम्युनिष्ट नेताहरु जस्तै पुष्पलाल, केशरजंग रायमाझी, तुलसीलाल अमात्य, मोहनबिक्रम सिंह, नारायणमान विजुक्क्षे र सिपी मैनालीहरु विभिन्न परिवेशमा नेकपा फुटाएर वा जुटाएर नेपालका कम्युनिष्ट आन्दोलनको फरक फरक धारमा नेतृत्व गरे तर सत्ता प्राप्तीमा हमेसा असफल रहे । मनमोहन अधिकारी, बिष्णु वहादुर मानन्धर, साहना प्रधान, निर्मल लामा, केपी ओली, मोहन बैद्ध, ऋषि कट्टेल, विप्लव आदिहरु नेपालका कम्युनिष्ट आन्दोलन हस्तिहरु हुन तर वहाहरुको सैद्धान्तिक विचार माथि उल्लेखित नेतृत्वहरुको दाया वायामा सहयोगी भएर वा भिन्नै आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टीको निर्माण गरिएको छ जस्को सैद्धान्तिक धारको औचित्य सावित गर्न सकिराखेको अवस्था छैन् । अर्को तिर हिक्मत सिंह भण्डारी, रुपलाल विश्वकर्मा, बाबुराम भट्टराई जस्ता बर्षौ कम्युनिष्ट आन्दोलनमा विताएका हस्तीहरुले जीवनको उत्तरार्धमा कम्युनिष्ट पार्टी छाडेर विमुख भएको ज्वलन्त उदाहरण पनि छ ।
जनमत संग्रह सम्पन्न पश्चातको पञ्चायती चुनावमा जनताको विचमा तत्कालिन मालेको राजनैतिक परिक्षण भएको थियो र फलस्वरुप पाँचजना जनपक्षिय उमेद्वारको हैसियतमा राष्ट्रिय पंचायतको सदस्यहरु निर्वाचित गराउन सक्षम भएको इतिहास छ । कांग्रसे वामपन्थीको संयुक्त आन्दोलनमा पार्टीलाई समावेश गराएरविगतमा आफ्नो पार्टीबाट भएको राजनैतिक गलत अभ्यासलाई विस्तारै बहुदलिय प्रतिस्प्रधामा सिङ्गो पार्टीलाई ल्याउने श्रेय मदन भण्डारीलाई जान्छ । रेलिङ्ग भाच्ने र राम्राघरका शिशा फुटाउने कार्यकर्ताहरुलाई बहुदलिय जनवाद मार्फत ब्रिट्रिस मोडेलको संसदीय पद्धतिको रुपरेखा भित्र रुपान्तर गर्ने मदन भण्डारीको भूमिका नेपालको कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक परिवर्तनको सुरुवात हो ।
नेपालको कम्युनिष्ट पार्टीहरुको सैद्धान्तिक पक्ष मार्क्सवाद, लेनिववाद, माओवाद जे लेपन लगाएता पनि एउटै हो । दिवंगत नेता पुष्पलाल पनि मार्क्सवाद लेनिववाद माओवाद बाट निर्देशित हुनुका साथै होचिमिङ् वादी पनि हुनुहुन्थ्यो । पुष्पलालले नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरु पनि जोडिनु पर्छ भनि संयुक्त जनआन्दोलनको नारालाई ससक्तरुपमा उठाउनु भएको कारण बहुदलिय व्यवस्थाको पुनर्स्थापना र राजतन्त्रको अन्त्य भएको मानिन्छ । यसैलाई आधारमानी मनमोहनअधिकारी र साहना प्रधानको नेतृत्वमा माक््सवादी पार्टीको पुनर्गठन गरिएको थियो ।
मनमोहन अधिकारीलाई संगठन विस्तारित हुनु भन्दा पनि आफू मरेपछि मलामी नहुने चिन्ता ज्यादै थियो किनकी वहाले नेतृत्व गर्नुभएको पार्टीमा नेताहरुको मात्र विगविगी तर कार्यकर्ताहरुको सून्यता थियो । वहाको मनोकामना पुरा गर्न रामसिंह रावलजी लगाएत कम्युनिष्ट एकता प्रेमी समूहले विशेष भुमिका खेलेको थियो जो तत्कालिन समयमा साहनाले नेतृत्व गर्नुभएको पार्टीसंग आवद्ध थियो । मनमोहन र साहना नेतृत्व दुई पार्टीहरुलाई एकिकरण गराएर नेकपा मार्क्सवादीको सिर्जना गराउने समूहलाई लत्याएर अन्तत्वागत्वा दुवैले तत्कालिन मालेसंग गरेको एकता पश्चात मनमोहन अधिकारीले पार्टी भित्र आफ्नो स्थान दरो बनाउनुका साथै आफ्नो सादगीपनले जनप्रिय बन्नुभयो र मलामी संख्या धेरै बनाउने वहाको रहर पुराभएको हामी बाचेकाले देखेकै छौ । एमालेबाट फुटेर मालेको अध्यक्ष हुनुभएकी साहनाको मृत्युमा आँसु चुहाउने संख्या औलामा गन्नेनै थिए किनकी दुखमा साथदिने पुराना आफ्ना कार्यकर्ताहरु पहिल्यै लत्याउनु भएको थियो । मनमोहन अधिकारी र साहना प्रधानको नवगठित एमालेमा आफ्नो मात्र अस्तित्व बचाउने औसरवादी चरित्रले मार्क्सवादीका कार्यकर्ताहरु एमाले भित्र दोश्रो दर्जाका नागरिक सरह थिए भने केही पछि माओवादी र कांग्रेसमा पसेको पाईन्छ । समग्रमा पुष्पलालले आफ्नो सक्षम उत्तराधिकारी तयार गर्न नसकेको स्पष्ट देखियो जस्का कारण बि.सं.२०२५ सालमा वहाबाट पुनर्गठन गरेको पार्टी लगभग विघटन हुन पुग्यो । यसको बाबजुदपनि असफल पुष्पलाल मृत्यु पश्चात सवैभन्दा फोटोमा पुजिने स्वर्गिय नेतामा पर्नु हुन्छ ।
संसदीय व्यवस्थाको विरुद्धमा माओवादीले सञ्चालित हतियार सहितको जनसंघर्सले १८ हजार नेपालीहरु मारिएका थिए र अन्तत्वगत्वा संसदिय व्यवस्थामा प्रवेश गरि जनयुद्ध टुङ्गाएको थियो यसका वावजुद मधेसी, जनजाति, दलित तथा महिला जागरण आन्दोलनलाई ससक्त बनाएको पाईन्छ । फलस्वरुपसंविधान सभा मार्फत पछिल्लो प्रगतिशिल संविधान निर्माण भएको छ भलै यो विवादमुक्त हुन सकेन । तर माओवादी आन्दोलनले हतियार उठाउने नाममा व्यक्तिहत्यालाई प्रोत्साहन दिएका कारण समाजमा अपराधिकरणको बृद्धि हुन प्रोत्साहन गरेकोपाईन्छ ।सवैभन्दा महत्वपूर्ण पक्ष के भने माओवादी जनयुद्धले नेपालमा सदियौ देखि चल्दै आएको हिन्दु संस्कृतिको दवदवालाई रोक्दै विस्तारै ख्रिष्टियनकरणको जगलाई माथि उठाउन सहयोग पुराएको देखिन्छ । भारत र दरवारको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थनमा माओवादीको जनयुद्ध सुरुभएको भन्ने गैह्र माओवादी पार्टीहरु र भारतीय पक्षबाट लगाएको आरोप माओवादी आन्दोलनसंग संबन्धित पक्षले सन्तोषजनक प्रतिरक्षा नगरिएकाले माओवादी जनयुद्ध शंकाको घेरामा हुनु स्वभाविक छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई जातिगतसँग जोड्ने प्रयास दुवै मदन भण्डारी र पुष्पकमल दाहालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीहरुले गरेकै हुन किनकी पार्टी भित्र जातिय संघहरु खोलिएको थियो जुन पुष्पलालले सन् १९५१ सेप्टेम्बर २ मा कलकत्तामा आयोजित नेकपाको प्रथम सम्मेलनमा प्रस्तुत तथा पारित राजनैतिक प्रतिवेदनमा उल्लेख गरेको भन्दा फरक थियो । सो सम्मेलनले जातीय आन्दोलनलाई मजदूर, किसान, विद्धार्थी, महिला आदि जनवर्गिय संगठनहरुमा आवद्ध गरी उनीहरुकै आर्थिक र राजनैतिक मागहरुको हासिलको लागिसंघर्ष गर्नु हो भनेर पारित गरेको थियो । पुष्पलालले जातिवादको विरोध आफैबाट सुरु गरेको उदाहरण पाइन्छ जस्तो आफ्नो थर कहिल्यै उल्लेख नगर्ने नेपालका एक मात्र कम्युनिष्ट नेता हुनुहुन्थ्यो । तत्कालिन मालेलेसुधारिएको पंचायति व्यवस्थाले संचालन गरेको पहिलो चुनावमा काठमाण्डौमा पद्मरत्न तुलाधारको जातीय नारालाई प्रोत्साहन गरेको थियोतर मदन भण्डारीले बहुदलीय जनवादमार्फत पार्टीको जातिवाद धारलाई पछि सच्चाएको पाईन्छ । त्यस्तै पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी पार्टीले जातिगत संघीय संरचना गर्न खोज्दा पहिलो संविधान सभा विघटन हुन गयो । डवल नेकपा गठनका साथ अध्यक्ष पुष्पकमल दाहालको जातिवाद नारामा परिवर्तन आएको देखिएता पनिवहाको सैद्धान्तिक अडान कहिल्यै स्थिर हुँदैन ।
विसं.२०४६ साल अगाडीको तत्कालिन माले र मसालको ईतिहास अध्ययन गर्दा दुवै पार्टीहरुको बीचमा त्यति भिन्नता देखिएको थिएन किनकी दुवैजनमत संग्रह बहिष्कार गर्नै र वामपन्थी तथा देशभक्तको सरकारको पक्षपाति पनि थिए। पार्टी स्वतन्त्रताको विरुद्धमा राजनैतिक स्वतन्तत्रा हुनुपर्छ भनि पंचायतलाई भन्दा पनि नेपाली कांग्रेसलाई बढी प्रहार गर्दथ्ये । बि.सं. २०४५–४६ सालको बहुदलीय व्यवस्थाको पुनस्थापना पछिको बनेको बि.सं. २०४७ सालको संविधानको विरुद्धमा नवगठित माओवादीबाट संचालित जनयुद्धले नेकपा एमालेको राजनैतिक धारलाई चुनौति दिएको थियो तर १० बर्षे जनयुद्धबाट शक्ति आर्जन गरी पहिलो संविधान सभाको चुनावमा पहिलो बनेको माओवादी पार्टी दोश्रो संविधान सभाको चुनावसम्म आइपुग्दा विभाजित भई बहुमत धार नयाँ संविधानअनुसार भएको संघीय तथा प्रदेश चुनावमा साझा उमेद्वारहरु लिएर नेकपा एमालेसँग मोर्चा गरी दुई तिहाई उन्मुख सांसदहरुको विजयको साथ दुवै पार्टीहरु एकीकृत हुन गए तर पनि अप्राकृतिक जस्तो एकता देखिनाले हाल पार्टीको आन्तरिक सत्ता संघर्षको विवाद चरम उत्कर्षमा छ ।
युरोपमा लगभग ७० वर्षपछि कम्युनिष्ट सरकारहरु तासको महल भत्केझै ढले तर पनि त्यस दौरानमा भौतिक पूर्वाधारको साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेकोविकासले अमेरिका लगाएत पश्चिमा शक्तिलाई चुनौति दिएको थियो । नेपालका कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनमा आएको गिरावाटबाट पाठ सिकेर अगाढी बढ्छन् र दुई तिहाई उन्मुख बर्तमान कम्युनिष्ट सरकारले नेपाली गरिव जनताको सामाजिक तथा आर्थिक विकासको लागि पूर्वाधार निर्माण गरी केही समयमा रुपान्तर गर्नेछ तर पार्टी भित्रको सत्ता संघर्षले जनचाहनामा तुषारापात भएको छ । विश्वमा एक दुई देशहरु मध्ये संसदीय व्यवस्थालाई प्रयोग गरी केन्द्रीय सत्ताको नेतृत्व गर्ने मौका नेपालमा नेकपाले पाएको छ तर नेतृत्वको आन्तरिक कलहले गर्दा जनताको जनमत हारिरहेको छ । अन्य सासाना समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुको आफ्नो अस्तित्वको खोजीमा छन् । नेपाली कांग्रेस बाहेक ससक्त वैकल्पिक गैर कम्युनिष्ट पार्टीहरुको अस्तित्व संकटमा छ र जति असफल भएपनि प्रमुख प्रतिपक्षको सैद्धान्तिक स्खलनका कारण कम्युनिष्टहरुलाई अझ पनि परिस्थितिले साथ दिँदैछ ।