विराटनगरः नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सम्पन्न भएको छ ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन समेत दिएको छ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।
सुवेदीले बैठकमा नेपाल–खनाल पक्षका सांसदहरु पनि उपस्थित भएको बताए । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तुलसी न्यौपाने, लीलाबल्लभ अधिकारी लगायतका सांसद बैठकमा उपस्थित भएको उनले बताए । उनले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका सांसद टंक आङ्बुहाङ दलको बैठकमा उपस्थित भएको जानकारी दिए ।
दलको बैठकले संसदीय बोर्ड पनि गठन गरेको छ । दलको नेताको नेतृत्वमा गठन भएको बोर्डमा उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लिलावल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेत छन् ।