धरानः सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।
‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’
चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । उता प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल देशमा लकडाउन नहुने बताएका छन् ।
उनले कोरोना संक्रमण बढे पनि तत्काल लकडाउनको सम्भावना नरहेको बताएका हुन् । “तत्काल लकडाउन हुँदैन,” उनले भने। भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि विज्ञप्ति जारी गर्दै ठूला सभा(सम्मेलन नगर्न आग्रह गरेको थियो ।