Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्गाप्रसादलाई नागरिकता

हाम्रो कोशी आवाज
चैत्र १२ २०७७, बिहिबार
दुर्गाप्रसादलाई नागरिकता

इलामः ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।
‘प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको हो,’ खड्काले भने ।
नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् । ‘ठूलो बुवाले नागरिकता लिइसक्नुभयो । हाम्रो नाता पनि प्रमाणित भइसक्यो,’ गोपालले भने ।
नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ । पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ ।
‘अब दीपक जैसी र दुर्गाप्रसाद तिम्सिना भन्ने व्यक्ति एउटै हो भन्ने पनि सिफारिस सिडिओ कार्यालयबाट बनाउँछौं,’ गोपालले भने ।
उनका अनुसार दुर्गाप्रसाद घरमा बसेपछि अचेल बोल्न थालेका छन् । ‘ठूलो बुवा पहिलाभन्दा कुरा गर्न थाल्नुभएको छ,’ उनले भने ।  तिम्सिनालाई कोलकाता उच्च अदालतले जेलबाट गएको चैत ४ गते बुधवार रिहाइको आदेश दिएको थियो । आदेशअनुसार उनी शनिबार बिहान साढे ११ बजे कोलकाताको दमदम जेलबाट छुटेका थिए । व्यक्ति हत्या अभियोगमा सुनुवाइविना नै भारतको जेलमा ४० वर्ष बिताएर तिम्सिना गएको आइतवार घर आइपुगेका हुन् ।
२०३७ साल माघमा घरबाट तोरी बेच्न भनी मंगलबारे बजार हिँडेको भन्दै घरबाट निस्केपछि बेपत्ता हुनुभएका तिम्सिना कहाँ थिए भन्ने कसैलाई थाहा पत्तो थिएन । २०१७ सालमा जन्मिएका उनी अहिलेसम्मको समय जेलमै बसेर बिताएकाले उनको नागरिकता नै बनेको थिएन ।
८५ वर्षकी आमा धनमाया भन्छिन्, ‘दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाहसमेत भएको छैन ।’

प्रकाशित मिति: चैत्र १२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend