धरानः आज र भोलि रङ्गहरुको पर्व होली । धरानमा होली लक्षित विभिन्न रंग र चित्र भएका टिसर्टहरु धरानका अधिकांश पसलमा झुन्डिएका छन् ।
पछिल्लो समयमा होली खेल्ने परम्परा र तरिका दुवै परिर्वतन हुँदै गएको देखिन्छ । आजभोलि बच्चादेखि वृद्धसम्मले सेतो रंगको टिसर्टमा ‘ह्याप्पी होली’ लेखेको टिसर्ट लगाएर रङ खेल्न मन पराउने भएकाले बजारमा यस्ता टिसर्ट निकै बढेको छ । यसले धरानमा होलीको रौनक भित्रिसकेको समेत जनाउने गरेको छ ।
वर्षमा एक दिनको लागिमात्र प्रयोग गर्ने भएकाले यस्ता टिसर्ट सस्तो दरमै पनि बिक्री वितरण हुने गरेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्षपनि कोरोना त्रासकै कारण होली पर्वको रौनक खासै नआएको र टिसर्ट पनि खासै बिक्री नभएको बताउँछन् । व्यवसायीका अनुसार सुनसरी प्रशासनले यसपटक पनि भीडभाडका साथ होली नखेल्न आग्रह गरेको हुनाले पनि होलीको रौनक नभएको बताउँछन् ।

