सुनसरीः सुनसरी कोशी गाउँपालिका–६ श्रीपुर बस्ने उदयकुमार मुखिया र सोही स्थानका बिहारी मुखियालाई ठूलो परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरिएको छ ।
चैत २१ गते विशेष सूचनाको आधारमा कोशी गाउँपालिका–४ कोशी कटान छेऊ बाँसझ्याङमा बालुवाको थुप्रोमा खाल्डो बनाइ बालुवाले पुरी लुकाई राखेको अवस्थामा लागूऔषध गाँजा ८७ केजीसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् ।
पक्राउ गरिएका दुवैजनालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
उता झापा दमक–५ का १८ वर्षीय अनुप धिताललाई लागूऔषधसहित पक्राउ गरिएको छ । आइतबार राति ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाइजेपाम ३३ एम्पुलसहित पक्राउ गरी अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।