विराटनगरः छुट्टाछुट्टै स्थानमा आइतबार भएको आगोलागीबाट २० लाख भन्दा बढीको क्षती भएको छ ।
साढे ३ बजे धनकुटा सहिदभूमी १ त्रिवेणी सामुदायिक वनबाट सल्केको आगोले सोही स्थानको जगदेउ बस्ने नरबहादुर बोगटीको ढुङ्गा माटो, टिनको छानो भएको १ तले घर र घरभित्र रहेको अन्नपात लत्ताकपडा, भाडावर्तन, गोठ र गोठभित्र रहेको ४ वटा बाख्रा र निजकै छोरा राजबहादुर बोगटीको ढुङ्गा माटो काठ फुसको भएको १ तले घर, घरभित्र रहेको अन्नपात लत्ताकपडा, भाडावर्तन जली नष्ट हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
आगो प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा आएको सो कार्यालयले जनाएको छ ।
त्यस्तै, आइतबार बेलुका ५ बजे मोरङ पथरी शनिश्चरे ६ जयनेपाल चौक बस्ने लक्ष्मी कठेतको गाईगोठमा सुकेको घास थ्रेसरले टुक्रयाउने क्रममा थ्रेसरबाट निस्किएको आगोको झिल्का आगोलागि हुँदा सिमेन्टिको खम्बा, काठको डाडा भाँटा, टिनको छानो भएको ३६ फिट चौडाई ६५ फिट लम्बाई भएको गाईगोठ जली पूर्ण रुपले नष्ट हुँदा अन्दाजी रु. १२ लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो आगो प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।