धरानः स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ ।
बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भीडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो । मन्त्रालयले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ ।
मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ जिल्लालाई अति संवेदनशील मानेको छ ।
ती जिल्लाका भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरू अविलम्व बन्द गर्नुपर्ने अवस्था रहेको औंल्याइएको छ । तर, ती सबै क्षेत्र बन्द गर्न नभनीकन मन्त्रालयले नजान अपिल गरेको हो । यसरी जान नहुने ठाउँहरूमा विद्यालय, रात्रिकालीन व्यवसाय, सात बजेपछि सबै रेष्टुरेन्ट, क्लब, खेलकुद, जिम, सार्वजनिक पूजाआजा, जात्रा, सभा, सम्मेलन, बैठक, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, स्वीमिङ पुल, हेल्थ क्लब लगायत छन् ।
साथै, मन्त्रालयले अस्पतालहरूलाई अनिवार्य रुपमा फिवर क्लिनिक सञ्चालन गर्न, कोभिड परीक्षणका लागि नमूना संकलन तथा व्यवस्थापन गर्न अनुरोध गरेको छ । मन्त्रालयले रात्री व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।
