धरानः नेपाल पत्रकार महासंघ सुनसरीले पत्रकारहरुको सुरक्षाको साथमा वृत्ति विकासका विषयलाई लिएर धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
६ बुँदे मागहरु उल्लेख गरिएको ध्यानाकर्षणपत्रमा सञ्चारगृहलाई नियमितरुपमा प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी तत्काल गरिनुपर्ने, फेलोसिप प्रदान गरियोस्, सञ्चारमाध्यम लक्षित विशेष प्याकेज तत्काल घोषणा गरियोस्, तालिम तथा पत्रकार भ्रमण शीर्षकमा छुट्याइएको रकम महासंघमार्फत पत्रकारको समस्या टार्न उपलब्ध गराइयोस्, कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर महत्वपूर्ण भूमिका खेल्ने श्रमजीवी सञ्चारकर्मीसँगै यस क्षेत्रमा सञ्चालित सञ्चारगृहका निम्ति आगामी आर्थिक वर्षको बजेटमा विशेष प्याकेज घोषणा गरियोस् र पत्रकारका लागि निःशुल्क उपचारको व्यवस्था गरियोस्लगायतका माग राखिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख राईले यस विषयमा उपमहानगरपालिका सकारात्मक रहेकोले चाँडै छलफल गरेर कार्य अघि बढाउने बताएका छन् । उनले सङ्क्रमणमा परेका पत्रकारको उपचारका लागि आइसोलेसन सञ्चालनमा महासंघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाले धरान–१९ हरियाली सामुदायिक वनमा आइसोलेशन बनाउँदैछ । सो आइसोलेशनको व्यावस्थापन समितिमा महासंघको तर्फबाट समेत एकजना प्रतिनिधि पठाउन नगरप्रमुख राईले बताएका छन् ।

