धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक सम्बन्धलाई सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन् ।
बीबीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी भएको उनले बताएका छन् ।
ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् । गोखा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । ‘गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्,’ उनले भने, ’ उनीहरुका परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ ।’
बीबीसीसँग बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलायत नेपालको साथमा रहेको बताएका छन् । प्रवक्ताले कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन उपलब्ध गराउने बताएका छन् ।
नेपालका प्रधानमन्त्रीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
ओलीले भने, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु ।’
