Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७८, बुधबार
अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता शुरु

धरानः किराँत राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत खुला विश्वव्यापी बिनायो प्रतियोगिता शुरु गरेको हो ।
लोपोन्मुख बनेको बिनायो बाजाको संरक्षण, संवर्धन गर्दै युवा पिंढीमा हस्तान्तरण गर्ने उद्देश्यले बिनायो वादन प्रतियोगिताको आयोजना गरिएको किरात राई सांस्कृतिक कलाकार सङ्घका सचिव पदम थुलुङले बताए । “कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल कार्यक्रममा बिनायोको धुन बजाएर विश्वव्यापी अनलाइन बिनायो वादन खुला प्रतियोगिताको शुरु गरिएको छ”, उनले भने, “जेठ २२ गते पर्ने आफ्नो १६औँ स्थापना दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछन् ।”
सचिव थुलुङका अनुसार पहिलो चरणमा इच्छुक प्रतियोगीले बिनायो बजाइरहेको भिडियो असार १० गतेभित्र आयोजकलाई पठाइसक्नुपर्नेछ । छनोट भएका भिडियो सङ्घको युट्युब च्यानलमा अपलोड गरिने आयोजकले जनाएको छ । पहिलो चरणमा छनोट भएका मध्येबाट पुनः दोस्रो चरणमा पनि बिनायो बजाइरहेको ओरिजिनल भिडियो आयोजकलाई उपलब्ध गराउनुपर्ने जनाइएको छ । दोस्रो चरणमा उपलब्ध भएको भिडियोको आधारमा फाइनल प्रतिस्पर्धा हुने सङ्घले जनाएको छ ।
बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम साता समापन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः रु. १६ हजार, १० हजार र ७ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले बताए । कार्यक्रममा किराँत राई सङ्गीत सम्मान अक्षयकोषका लागि रु. २ लाख २२ हजार २२२ रकम सङ्कलन भएको जनाइएको छ ।

प्रकाशित मिति: जेष्ठ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend