Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मधुमेह भएकालाई खोप छिट्टै लगाए हुँदैन ?

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७८, सोमबार
मधुमेह भएकालाई खोप छिट्टै लगाए हुँदैन ?

मधुमेह हुनेलाई कोरोना संक्रमण हुने खतरा बढी हुन्छ भन्ने वैज्ञानिक तथ्यले प्रमाणित गरिसकेको छैन । यता, कोरोनाले प्यानक्रियाजलगायत शरीरको मेटाबोलिज्मलाई असर गरेर मधुमेह शुरु हुन्छ भन्ने तथ्य पनि प्रमाणित भएको छैन । मधुमेहीमा कोरोना संक्रमण भएमा छिटो लक्षणयुक्त हुने, अवस्था बिग्रने, खतराको संकेत प्रष्ट देखिने र मृत्युसमेत बढी हुने गरेको छ । समग्रमा कोरोनाबाट मृत्यु १ प्रतिशतभन्दा कम हुने गरेकोमा मधुमेही कोरोना संक्रमितको मृत्युदर करिब ८ प्रतिशत देखिन्छ ।
मुटुरोग, उच्च रक्तचाप, मिर्गौला रोग र पहिले नै फोक्सो सम्बन्धी दीर्घ रोगीहरुमा मधुमेह पनि भएमा बढी जोखिम देखिन्छ । मधुमेहका कारण पहिल नै मिर्गौला छोएका, प्यारलाइसिस भएका, एन्जियोप्लास्टी वा मुटुको वाइपास सर्जरी गरेकाहरुमा कोरोना संक्रमण हुँदा अवस्था अझ भयानक हुनसक्छ । मधुमेहको कारण शरीरको कोषिकाहरुमा सुक्ष्म सुजन भइरहेको हुन्छ र भाइरसले पनि प्रभावित हुँदा कोषिकाहरुमा त्यसरी नै आक्रमण गर्ने हुनाले सम्बन्धित अंग छिटो खराब हुन्छ । मधुमेहको रगतका नलीहरु र स्नायु प्रणालीमा हुने प्रभावले कोरोनाका केही लक्षणहरुलाई बिरामीले शुरुमा थाहा नपाउने, नजरअन्दाज गर्ने वा मधुमेहकै लक्षण सम्झेर भ्रम पर्ने गरेका छन् ।
लकडाउनको कारण घरमा बसिरहँदा खाना र खाजाको मात्र बढ्ने (करिब २० प्रतिशत बढी कार्बोहाइड्रेट खाइने) तर, सो को अनुपातमा बाहिर निस्कन नमिल्ने हुनाले नियमित कसरत र हिँडाइ करिब ४० प्रतिशतका दरले घटेको तथ्यहरुले देखाएको छ । यसले रगतमा ग्लुकोज अनियन्त्रित रुपमा बढ्छ र विशेषगरी खाएपछिको सुगर हुन्छ, जुन मुटु र रक्तनलीलाई बढी घातक मानिन्छ ।
हाम्रो जस्तो मुलुकमा इन्सुलिन लगाउन डराउने, लगाउन तयार भए पहिले नै मधुमेहको कारणले आँखा कमजोर भइसकेको हुने वा ज्ञानको कमी हुन्छ । यस्तो अवस्थामा इन्सुलिन लगाइदिने आफन्त वा नजिकको स्वास्थ्यकर्मीको सहयोगसमेत लिने गरेको पाइन्छ । तर, कोरोनाका कारण भौतिक दुरी कायम गर्नुपर्ने हुँदा त्यसरी इन्सुलिन लगाइदिन नमिल्दा रगतमा ग्लुकोज झनै अनियन्त्रित भएर मधुमेह गम्भिर र जटिलतर्फ जान्छ । पछि कोरोना संक्रमण हुन थप सहयोग पुग्छ ।
कोरोनाका कारण अस्पतालमा भर्ना भएका मधुमेहीमा छिट्टै ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ, जुन ट्याबलेटबाट सम्भव हुँदैन । कोरोना संक्रमणले कलेजोको इन्जाइमहरु बढाउन सक्ने र गम्भीर हुँदै जाँदा मिर्गौला प्रभावित गर्नसक्ने हुँदा त्यस्तो बेला ट्याबलेट औषधि बन्द गर्नुपर्छ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने स्टेरोइड औषधिले रगतमा ग्लुकोजको मात्र बढाएर रोगको प्रतिरोधात्मक क्षमता कम गरिदिने, भइरहेको मधुमेहीको रगतमा ग्लुकोज बढाइदिने, मधुमेहमा प्रयोग हुने ट्याबलेट औषधिले काम नगर्ने अवस्था ल्याँउछ र रगतको ग्लुकोजको मात्र नियन्त्रण गर्न दिइने इन्सुलिनको आवश्यकता बढेर जान्छ ।
अस्पतालमा भर्ना हुँदासमेत नियमित सुगर परीक्षण र इन्सुलिनको मात्रा मिलाउन धेरै पटक बिरामीसँग घुलमिल हुन स्वास्थ्यकर्मीलाई समेत अप्ठ्यारो हुने हुनाले रगतमा ग्लुकोजको मात्रा तलमाथि भइरहन्छ । यो कोषिकाको लागि घातक मानिन्छ । कोरोना संक्रमणको कारण अत्याधिक तनाव बढ्ने हुँदा ग्लुकोजको मात्रा अझ बढ्न जान्छ । मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो । यसमा कोरोना संक्रमण हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने गरेको छ । यसले मृत्युदर उच्च हुनसक्छ ।
मधुमेही र अन्य व्याक्तिले कोरोनाविरुद्धमा लिने होसियारीमा खासै तात्विक अन्तर छैन । खानपिन र जीवनशैलीको तरिका पनि उही नै हो । मात्र मधुमेहीले लिनुपर्ने थप होसियारी आफ्नो रोग अनुसारको जीवनशौली अपनाउने, खतराका सुचकहरु पहिचान गरी चिकित्सक र स्वास्थ्यकर्मीको निगरानिमा रही रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्नुपर्ने हुन्छ । आम जनमानसभन्दा बढी खतरा हुने हुँदा सरकारले मधुमेहीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend