धरानः मौसम परिवर्तन र वर्षासँगै देखिएको विपद्को समयमा थप स्वास्थ्य समस्याहरु देखिन सक्ने भन्दै नागरिकहरुलाई सचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले जनस्वास्थ्यलाई ख्याल राख्न आग्रह गरेको हो । बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाईसम्बन्धि जनस्वास्थ्यका समस्याहरु झनै बढ्नसक्नेतर्फ सबै सजग हुन जरुरी देखिएको मन्त्रालयले जनाएको छ ।
जनस्वास्थ्यको मापदण्डको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र बासको प्रवन्ध, सरसफाई तथा लामखुट्टेको टोकाई हरुबाट बच्ने उपायहरुमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।
त्यस्तै, जनस्वास्थ्यको सुरक्षाको लागि आवश्यक औषधि, उपकरणहरु, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानिय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको जनाएको छ ।






