धरानः सुनसरीमा निषेधाज्ञा थपिएको छ । थप सातादिन निषेधाज्ञा लम्ब्याइएको हो ।
असार १४ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञा अवधिमा पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म खुल्ला गर्ने तर पसलहरुमा भीडभाड हुन नदिइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाउने जनाइएको छ ।
निषेधाज्ञा अवधिमा गुद्री बजार, हाट बजार, सब्जीमण्डी, होटल, रेष्टुरा, पार्टी प्यालेस पनि बन्द हुनेछ भने सैलुन, ब्युटीपार्लर, जिमखना, फुटशल, रंगशाला, कभर्ड हल र लामो तथा छोटो दुरीको निजी, भाडाका सार्वजनिक यातायातहरु पनि बन्द हुनेछन् ।
होटल तथा रेष्टुरेण्टले होम डेलिभरी साथै टेक अवे सर्भिस दिन पाउने जनाइएको छ भने चिया पसल खोल्न पाइने छैन ।
प्रशासन कार्यालयमा बसेको डिसिसीएमको बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले जानकारी दिए । ‘खासमा सबै जनप्रतिनिधि सम्मिलित बैठकले नै यस्तो निर्णय भएको हो’, उनले भने । पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ । कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि सुनसरीमा वैशाखदेखि लगातार निषेधाज्ञा भइरहेको छ । सरकारले पछिल्लो एक सातादेखि सुनसरीमा निषेधाज्ञा केही खुकुलो बनाएको छ ।
काठमाडौंलगायतका जिल्लामा निजी सवारी साधन जोरबिजोर चल्न पाउने गरी निषेधाज्ञा थपिएको थियो भने अन्य पसलको हकमा बारअनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खोल्न दिने निर्णय भएको थियो ।






