Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यति बुझ्नुहोस् गाँजाले भलो गर्छ भन्नेमा प्रमाण छैन

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
यति बुझ्नुहोस् गाँजाले भलो गर्छ भन्नेमा प्रमाण छैन

आफू सानो छँदा भोक जगाउने भनी भाङ मिश्रित पोष्टकारी खुवाउने चलन रहेको मलाई याद छ । यस्तो पोष्टकारीले लाग्छ भन्थे । मन्दिर र घाटहरुमा आफ्नै सूरमा गाँजा तान्दै लठ्ठ परी बस्ने गजेडीहरु पनि देखेको छु । शिबरात्री र होलीमा परसादी भनी यसको सर्को तानेर बेशर्मी तरीकाले खित्का छाड्ने तन्नेरी किशोरीहरुको पनि कुरा सुनेको छु ।
टेन्सन भो, बोर भो, सप्ताहन्तको उत्सव छ, आदि भन्दै सिनियर, साथीभाई, कतिपय केटीहरु समेत गाँजामा डुबेको र होस्टेलमा गाँजाको गन्ध फैलिने गरेको म चिकित्सा शिक्षाको विद्यार्थी रहँदाको याद पनि छ । तीमध्ये कतिपय त्यो बेला अचम्म पाराले हराएका, अहिले पनि सम्पर्कमा नरहेका र दिमाग गड्बड् भएर पढाइबाटै पलायन भएका धुमिल तर एकखालको रहस्यमयी दुःखद् स्मृति पनि यो मनमा छ ।
गाँजा सेवनका अनुभवका साहित्य, गाँजा पक्षका मिडिया, कभरेज, सिर्जना भन्दै लत र दुव्र्यसन ब्यवहारलाई हौंस्याउने, मलजल गर्ने तथा आलाकाँचा मनका कौतुहललाई बढाएर आफूतिर खिँच्ने बिज्ञापने सामग्रीहरु आफ्नो अभिष्टका लागि अति तिब्र, प्रभाबकारी र मनोहारी पाउँछु । उनीहरुका तर्क, बुँदाहरु मन छुने र आग्रहले मन पगाल्ने खालका लाग्छन् । उनीहरु गाँजा खेती, गाँजा निर्यात, गाँजामा आधारित पर्यटन र विकासका सुनौला सपनाहरुका कुरा गर्छन् । भोका, नांगा, अशिक्षित, अभावग्रस्त नेपाली मनहरुभित्र समृद्धि र स्वच्छन्दताका सपना हावामा बुन्छन् र बाँध्छन् । सायद, उनीहरुलाई यस्ता दिग्भ्रमित मनहरुले वास्तवमा भोग्ने परिणति र नियतिसँग कुनै सरोकार र मतलब छैन ।
मनोचिकित्साको एमडी गरिराख्दा ड्युटीमा अरु मानिसहरु मात्र होइनन्, मेडिकल स्टुडेन्टहरु नै पनि गाँजा सेवन गरी डराउने, चिच्याउने र प्यानिक भई इमर्जेन्सीमै पनि ल्याएको नदेखेको होइन । एमडी सकिएपछि गरेको चिकित्सा विज्ञानका विद्यार्थीहरुको मनोस्वास्थ्य सम्बन्धी एक अनुसन्धानको क्रममा धेरै सहभागी विद्यार्थीहरुकै मुखबाट गाँजा समस्या विद्यार्थीहरु र होस्टेलमा कति ब्यापक र गम्भीर भन्ने जानकारी पनि पाइयो । केटाहरु मात्र होइनन्, अध्ययनको लागि अभिभावकहरुदेखि दूर होस्टेलमा रहने कति विद्यार्थी केटीहरुमाझ पनि यो ब्यापक रहेछ ।
मनोचिकित्सा सेवा र शिक्षणको दौरानमा अन्तरंग, बहिरंग, आकस्मिक र अरु सेवाहरुमा लगभग हर दिन बिक्षिप्त, अस्वस्थ, बिकृत, असन्तुलित मनहरुलाई नजिकबाट केलाउने कर्ममा मनलाई यसरी खजमज्याउने, रोगी बनाउने कारक तत्वहरुमा कुनै न कुनै रुपमा गाँजा रहेको साक्षी बनिरह्यो यो मन ।
गाँजाका उपयोगिताका बढाइचढाइँमा आदरणीय, गहकिला, क्षमतावान र विश्वासनीय लाग्ने बुद्धिजीवी, नेतादेखि लेखक आदिहरुले अति चित्ताकर्षक, विश्वशनीय र बैज्ञानिक प्रतित हुने प्रभावकारी पारामा बेलाबेलामा लेखिरहे, राग अलापिरहे, मिडियाबाजी गरिरहे । कतिपय उच्च शिक्षित आफन्त र अरु ब्यक्ति तथा बिरामीहरुले समेत विभिन्न स्वास्थ्य समस्या भनेजस्तो सुधार भएन भने, यताउता सुनेपढेको. मारिजुआना कसो होला भनी सोधेका छन् मलाई । हालसालै त झन् यसको चिकित्सकीय प्रयोगलाई कानुनी बैधानिकता दिने प्रसंगले उछाल आएको देखिन्छ ।
एकातिर गाँजा सेवन गर्न लालायित बनाउने तत्वहरु सशक्त छन् भने अर्कोतिर हरदिन यसको सेबनले दिलदिमाग, जीवन, जगत र भविष्य भताभुंग भएका भग्नहरुका साक्षी बनी त्यसबाट निस्कन सघाउनुपर्ने रोल्, उफ् यस्तो अन्तरजिरोधी परिस्थितिका बीच मथिङ्गल तात्तिइनै रहेको थियो । यो लेख लेख्न बसेको कोभिड महामारीको निषेधाज्ञा भइरहेको दिन नै पनि मानसिक समस्या भई वार्डमा भर्ती भएका झण्डै एकचौथाइभन्दा बढी बिरामीहरुमा गाँजासेवन भएको र मानसिक समस्यामा कुनै न कुनै रुपमा रोल खेलेको म देख्दछु । भएन, अब, अलि निर्दिष्ट तर तटस्थ रुपमा गाँजाका उपयोग र हानीबारे प्रमाणहरुको अध्ययन गर्नुपरयो भन्ने मनमा योजना बनाएँ । सोंच अनुसार अरु तीन जना जुझारु चिकित्सक भाइहरु सहित एउटा अध्ययन टोली बन्यो । चिकित्सा विज्ञानमा रहेका प्रमाणहरु खोतल्दै विभिन्न स्नायुरोगहरु, मानसिक रोगहरु र अरु स्वास्थ्य समस्याहरुमा गाँजाका केकस्ता उपयोगिता र हानी छन् भनी प्रमाणहरु संकलन गरयौं । एउटा जर्नल आर्टिकल पनि बन्यो र प्रकाशित भयो । त्यसै क्रममा मनोस्वास्थ्यको हिसाबले, मनोचिकित्सकका रुपमा राख्नैपर्ने कुराहरुलाई छुट्टै केश रिपोर्टका रुपमा राख्ने जमर्को पनि गरिरहेका छौं ।
यहाँ, त्यसै लेखका आधारमा गाँजा, यसका उपयोग र हानीबारे संक्षेप चर्चा गरी यसबारे आफूलाई महत्वपूर्ण लागेका केही सारसन्देस राख्तैछु । आफू, आफ्ना प्रियजन र सन्ततिका लागि यसबारे गहिरिएर सत्यतथ्य जान्न, बुझ्न, मनन् गर्न र सजग रहन यसले झक्झकाएछ भने मेरो यो उकुसमुकुसबाट उठेको कदमले सार्थक रुप लिएछ भन्ठान्नेछु । र, पाठकबृन्दले पनि यस प्रसङ्गलाई डस्टविनमा होइन मनको एक कुनामा चेतनाको एक बुँदका रुपमा आफू र अरुका लागि राख्नुहनेछ भन्ने भरोसा लिएको छु ।
आफूलाई परेपछि नै मात्रै सोच्ने, आफ्ना कोही प्रियजन यसको चंगुलमा परेर भताभुंग भएपछि पछुताउ नै मात्रै गर्ने होइन, बरु सबैतिर सदाकाल यसबारे सजग हुन आवश्यक देखेको छु । मलाई राम्ररी थाहा छ, मनलाई लत लगाउने, मनोहारी विज्ञापन वा सामाजिक सञ्जालको क्षणिक इन्द्रीय सुख दिने सामग्री होइन यो । यो मनन् गरेर पढ्नु, समय लगाएर घोत्लिनुपर्ने र आफ्नो रोल खेल्न झक्झकाउने धेरैलाई रिस, बोर वा दिक्क लाग्ने सामग्री हुनसक्छ । तर, आफूले देखेको नराखी बस्न नसकेर यहाँ राखेको छु । बाँकी, यो कुरा पढ्ने तपाईंहरुको जिम्मा । यो कुरा फास्फुस्स पारेर छाड्ने कि यसबारे सजग भएर सहि कुराको पक्ष लिने भन्ने ।
विशेष खालका छारेरोग, डिमेन्सिया, मल्टिपल स्क्लेरोसिस जस्ता स्नायुरोगहरुमा गाँजामा हुने तत्वहरु केहि हदसम्म कुनैकुनै कोणबाट लाभकारी भेट्टिएको उल्लेख छ । त्यस्तै, उल्टी, दुःखाइ विशेष गरेर क्यान्सरको दर्द र आँखाको कुनै कु्नै रोगमा केहि हिसाबले लाभकारी भन्ने देखिएको छ । यी उपयोगिताको पुष्टि छिटपुट रुपमा देखिएको हो, वैज्ञानिक हिसाबले प्रमाण पुग्ने स्थितिका देखिन्नन् । थप अनुसन्धान नगरी अहिलेकै अवस्थामा तिनको उपयोग गर्न सकिने गुन्जाइस देखिन्नँ । जुन समस्याका लागि गाँजाको उपयोगको कुरा हुँदैछ, तिनका लागि पहिले नै बेहत्तर विकल्प र उपायहरु विकास भइसकेको अवस्थामा गाँजाको उपयोग गर्ने कुरा उठाउनुको पनि तुक देखिन्न ।
क्यान्सर जस्तो रोगमा एउटाको लागि छिटपुट रुपमा लाभ देखिएकै अवस्थामा पनि अर्को त्योभन्दा खतरनाक असर वा क्यान्सरको सम्भावना बढेको पनि देखियो । अहिलेको कोविडमा पनि गाँजाको कुरा उठेको देखिन्छ । गाँजामा भएको एउटा तत्व केही हदसम्म –जसको लागि अर्को तत्वको असरको खतरा मोल्न सकिने देखिँदैन ।) कोभिडका केही लक्षणमा लाभकारी हुनसक्ने संकेत देखिएपनि अर्को तत्व बडो खतरनाक सावित हुने देखिएको छ ।
गाँजाको उपयोग मानसिक स्वास्थ्यका हिसाबले हानिकारक देखियो । पागलपन, एन्जाइटी, उदासिन र बाइपोलर जस्ता रोगहरुसँग यसको प्रष्ट नाता देखियो । मनोसामाजिक समस्या, सडक दुर्घटना, अरु नशालुपदार्थको दुव्र्यसन, प्रजनन शक्तिको ह्रास र निद्राको समस्यामा गाँजाको रोल देखिन्छ । गाँजाको प्रयोगले यदाकदा मुटुमा अरु समस्या नभएका मानिसको पनि मृत्यूसम्म भएको उल्लेख छ ।
यस हिसाबले, गाँजाका विविध खतरा, हानी वा प्रतिकूल असरहरुका लागि भने दसि अपर्याप्त देखिन्न । समग्र स्वास्थ्य बिना, मानब जीवन, समाज र भविष्यको भलो हुनसक्तैन । समग्र स्वास्थ्यको दृष्टिकोणबाट अब हामी प्रष्ट होऔं, कुनैपनि रुपमा गाँजाको सेवन वा प्रयोग गर्ने सल्लाह दिन लिन सकिँदैन, गाँजाको सेवन गर्नुहुँदैन । कुनै रोगमा गाँजा वा यसमा भएका कुनै तत्वको उपयोग गर्ने अवस्था आइहालेमा पनि निक्कै सोचबिचार र अनुसन्धान गरी प्रमाण जुटाउन आवश्यक देखिन्छ ।
(डा.शाक्य एमडी, वरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ हुन् । हाम्रो डाक्टर)

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend