असारको तेस्रो सातासम्म देशका विभिन्न भागमा वर्षादका कारण बाढीपहिरो, नदी कटान, डुबानजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न जिल्लामा टाइफाइड र झाडापखालाका बिरामी बढ्दै गएको पाइएको छ । वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् । यस वर्षको वर्षायामको सुरूआतमै टाइफाइड, निमोनिया र झाडापखालाका बिरामी ह्वात्तै बढ्न थालेका छन् ।
वर्षायाम शुरु भएसँगै किटजन्य सरुवा रोग, खाना तथा पानीजन्य रोगको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन् । वर्षायाममा पानीका मुहानहरू दुषित हुन थाल्ने र त्यस्तो पानी निर्मुलिकरण नगरी खाँदा पानीजन्य रोगको संक्रमण बढ्ने डा. अनुप बाँस्तोला बताउँछन् । डा. बाँस्तोलाका अनुसार गर्मी मौसमसँगै झाडापखाला, वान्ता, आउका बिरामी हेपटाइटिस ए र इ का बिरामी हरेक वर्ष बढ्दो क्रममा छन् ।
यसैगरी किटजन्य रोगमा लामखुट्टे तथा भुसुनाको टोकाइबाट सर्ने रोगहरूको संक्रमण पनि बढ्दो छ । यस समयमा फुटपोइजनका बिरामी पनि अस्पतालमा प्रशस्तै आउने गरेको उनको भनाइ छ । बासी र असुरक्षित रूपमा भण्डारण गरेका खानेकुरामा विभिन्न खालका जीवाणु हुन्छन् । यस्तो खाना खाएमा शरीरमा जीवाणुको प्रवेश भइ ज्वरो, वान्ता (फूड पोइजनिङ) हुन्छ । गर्मी मौसममा विभिन्न विषाणु र जीवाणुको प्रवाह गर्ने झिंगाको संख्या बढ्छ । झिंगाले दिसा, जमीन र फोहोर पानीबाट खानामा विषाणु र जीवाणुको प्रवाह गर्न मद्दत पुरयाउने हुँदा बाहिर राखेका र बासी नखान उनको सुझाव छ ।
वर्षाको पानीमा खेल्नाले पनि विभिन्न किसिमका रोग लाग्ने र सर्ने डा. बाँस्तोला बताउँछन् । धान रोप्ने समय भएकाले खेतको पानीमार्फत लेप्टोस्पाइरोसिस रोग लाग्न सक्छ । खोला तथा दहको जमेको दूषित पानीमा पौडी खेल्दा खुला एमिबाको संक्रमण हुन्छ । पानीमा आर्सेनिकको मात्रा उच्च भएमा आर्सेनिकोसिस रोग लाग्ने सम्भावना पनि हुन्छ ।
वर्षाद्का बेला सरुवा रोगका बिरामी अझै बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाएर स्वच्छ पानी र खानेकुरामा विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरुले सुझाव दिइरहेका छन् । सरुवा रोग विशेषज्ञहरुले सीधै मुहानबाट ल्याइएको पानीमात्र नभएर बजारबाट खरिद गरिने जारको पानीसमेत उमालेर प्रयोग गर्न सुझाएका छन् । यसबाट के पुष्टि हुन्छ भने पछिल्लो समय जारको पानी पनि ढुक्क भएर पिउने अवस्था छैन । प्रशोधित पानी उत्पादक कम्पनीहरुले जारको पानी शुद्धीकरण नगरी बिक्री वितरण गर्ने गरिएका दृष्टान्त धेरै छन् । जसले सरुवा रोगको जोखिम झनै बढाएको छ ।
दूषित पानीको सेवन र सरसरफाइको कमीले भाइरस र ब्याक्टेरिया संक्रमणबाट टाइफाइडका बिरामी बढ्ने गर्छन् । विशेषगरी वर्षाद्को बेला पानी उमालेर पिउने बानी बसाल्ने हो भने पनि सरुवा रोगको संक्रमणबाट जोगिन सकिन्छ । टाइफाइड, हैजा, आउँ, झाडापखाला र रुखाखोकीजस्ता सरुवा रोग दूषित पानी, हावा र खानाको माध्यमबाट सर्ने गर्छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने रोग भएकाले यसको समयमा उपचार हुन नसके बिरामीको ज्यानसमेत जान सक्ने जोखिम रहन्छ । ब्याक्टेरियाबाट सर्ने सरुवा रोगबाट बच्न सर्वप्रथम पिउने पानीमै ध्यान दिनुपर्छ । सरसफाइका साथै सफा शौचालयको प्रयोग गर्ने, ताजा खानेकुराको सेवन गर्ने, साबुनपानीले हात धुने, वातावरण सफा राख्नेजस्ता आधारभूत कुराहरुमा ध्यान दिन सके हैजा र झाडापखालाबाट जोगिन सकिन्छ ।
वर्षाद्को समयमा पानीको मुहान दूषित हुँदा कतिपयले अज्ञानतावश र कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका हुन्छन् । सामान्य सावधानीबाट हैजा र टाइफाइडजस्ता रोगको जोखिमबाट बच्न सकिने भएकाले यसबारे बेलैमा सतर्क हुनुपर्छ । वर्षायाममा जताततै पानी जम्मा हुने कारण किटाणुको प्रकोप पनि बढी हुन्छ । जसले डेँगु, मलेरिया, आँखा पाक्ने, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायतका रोग निम्त्याउँछ । वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने प्रतिरोधक र पाचन क्षमतासमेत घटाउने भएकाले यस्तो अवस्थामा विभिन्न संक्रमणले आक्रमण गर्ने जोखिम रहन्छ । त्यसैले यसको एकमात्र उपाय भनेकै खानपिन र जीवनशैलीमा ध्यान दिनु हो । वर्षाद्मा एकैसाथ विभिन्न रोगको महामारी फैलने सक्ने जोखिम रहन्छ । अहिले राजधानीदेखि विभिन्न प्रदेशका अस्पतालमा टाइफाइड, हैजा, डेँगु, झाडापखाला, औलो, जन्डिसजस्ता रोग देखापरेका छन् । यस्ता रोगबाट बच्न सफा खाना, शुद्ध पानी, पर्याप्त सरसफाइ, वातारणीय सरसफाइ नै एकमात्र उपाय हो । चितवनलगायतका जिल्लामा डेँगुको त्रास पनि कायमै रहेकाले लामखुट्टेको लार्भा नष्ट गर्ने, कुखुरा तथा पशुपक्षीको खोर सरसफाइ गर्ने, पानी जम्ने क्षेत्रमा सरुवा रोगको प्रकोप बढ्न नदिनेजस्ता सतर्कता अपनाउनु आवश्यक देखिन्छ ।
वर्षायाममा यसरी रहौँ स्वस्थ
–वर्षायाममा रोग फैलाउने कीटाणु सक्रिय रहन्छन् । त्यसैले खाना खानुअघि साबुनपानीले हात धुने, बासी खानेकुरा नखाने, सफा कपडा लगाउने, घरको नियमित सरसफाइ गर्नेजस्ता क्रियाकलापमा ध्यान दिनु जरुरी छ ।
– अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले २० सेकेन्डसम्म मिचीमिची साबुनपानीले हात धुने अभ्यासलाई कीटाणुबाट छुटकारा पाउने उत्तम उपाय बताएको छ ।
– झाडापखालाको समस्या निम्त्याउने ब्याक्टेरियालाई हातमा रहन नदिन यो विधि प्रभावी देखिएको सिडिसीको भनाइ छ ।
– घरवरिपरिका झारपात उखेलेर फालौँ र फोहोर पानी जम्न नदिऔँ । फोहोर पानी लामखुट्टेको प्रजननस्थल हो । र, खुला ठाउँमा भन्दा झाडीमा बढी लामखुट्टेको वास हुन्छ । डेंगु, मलेरियाजस्ता रोगको प्रसारमा सहयोगी किरा हो, लामखुट्टे ।
तरकारी र फलफूललाई राम्ररी पखालेर मात्र खाने र पकाउने गरौँ । खासगरी, पातयुक्त तरकारीमा जुका, लार्भा र फोहोर टाँसिएका हुन्छन् ।
– भिटामिन–सी’युक्त खानपानमा जोड दिऔँ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । कागती प्रजातिका फलफूल, हरियो खुर्सानी, स्ट्रबेरी, गोलभेँडा, ब्रोकाउली, हरियो सागसब्जीमा ‘भिटामिन–सी’ प्रशस्त पाइन्छ ।
– स्ट्रिट फुड खाँदैनखाऔँ । काटेर खुला ठाउँमा राखिएका फलफूल पनि नखाऔँ । स्ट्रिट फुडमा फुड पोइजन गराउने ब्याक्टेरिया पाइन्छन्, जसले झाडापखाला, टाइफाइड, जन्डिसजस्ता समस्या निम्त्याउँछन् ।
– उमालेको पानी प्रशस्त पिऊँ । उमालेको पानीले पानीजन्य रोगबाट टाढा राख्छ ।
– तरकारी र फलफूललाई राम्ररी पखालेर मात्र खाने र पकाउने गरौँ । खासगरी, पातयुक्त तरकारीमा जुका, लार्भा र फोहोर टाँसिएका हुन्छन् । राम्ररी पखाल्ने गर्नाले खानाका कारण आउने स्वास्थ्य समस्याबाट टाढा रहन सकिन्छ ।
– धोएर पूर्ण रूपमा सुकेका कपडा र जुत्ता मात्र लगाउने गरौँ । राम्ररी नसुकेका कपडा लगाउँदा एलर्जीलगायत समस्या आउन सक्छ ।
– स्वस्थ रहन नियमित शारीरिक व्यायाम गरौँ । लकडाउन र वर्षाका कारण बाहिर निस्किन सकिँदैन भने पनि घरभित्रै व्यायाम गर्ने बानी बसालौँ । व्यायामले रक्तसञ्चार प्रणाली, मानसिक स्वास्थ्य र तौल व्यवस्थापनमा ठूलो भूमिका वहन गर्छ ।
– बाहिरबाट भिजेर आउनुभएको छ भने वातानुकूलित कोठामा सीधै प्रवेश नगरौँ । पहिले शरीर सुक्खा बनाएर मात्र एसीजडित कोठामा प्रवेश गर्नुपर्छ । नत्र, सर्दी, खोकी र ज्वरोको समस्या देखिन सक्छ ।
– अनिद्राबाट बचौँ । दैनिक सातदेखि आठ घन्टा निदाउँदा शरीरको रोगप्रतिरोधी क्षमता मजबुत हुन्छ । राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने दिनचर्यालाई मात्र स्वस्थ मान्न सकिन्छ ।
– फोहोर हात अनुहारमा नपु¥याऔँ । फोहोर हात अनुहारमा पु¥याउँदा रोग बढाउने कीटाणु शरीरमा प्रवेश गर्छन् ।