Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा

धरानः सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञाको समय आज १२ बजेदेखि सकिँदैछ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धरानलगायत सुनसरीमै कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिएको हो ।
बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले धरानलगायत सुनसरीमा संक्रमितको संख्या यथावत रहेको र बढ्दो क्रममै रहेकोले निषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।
उनका अनुसार सवारी साधनमा जोर–बिजोर प्रणाली हटेको छ । सुनसरीमा असार ३१ गतेसम्म जोर–बिजोर प्रणालीअनुसार यातायात चल्दै आएको छ । यस्तै, निर्णयअनुसार पसल र होटल बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । ‘होटल, पसललाई एक घण्टा समय थपियो’, उनले फोन सम्पर्कमा भने, ‘होटल र पसल ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।’
उनका अनुसार सुनसरीमा लाग्ने बोलबमलगायतका मेलालाई रोकिएको छ । ‘धरानको विषयमा अलि ‘टाइट’ गर्ने भन्ने विषय उठेको थियो तर मेयर सा’ब काठमाडौंमा जानुभएको बुझियो, उहाँले नै बोलबमलाई रोक्नुपर्छ अरु पछि आएपछि सरसल्लाह गरौं भनेको हुनाले त्यसै गरेका छौं ।’ प्रवक्ता पोख्रेलले भने ।
जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘खासमा अहिले पनि संक्रमित बढेकै छन्’, उनले भने, ‘त्यही भएर पनि निषेधाज्ञा लम्ब्याइएको हो ।’
जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थपिँदै गएको छ । उनका अनुसार भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । यस्तै, सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।
धरानमा दोस्रो लहरयता अहिलेसम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा दिनहुँ ७० देखि ८० जनासम्म संक्रमित छन् ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend