धरानः कक्षा-१२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात् होम सेन्टरमा हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको जानकारी गराएका हुन् । परीक्ष साउन ३१ देखि भदौ ९ गतेसम्म हुँदैछ ।
बोर्डका सदस्यसचिव अर्यालले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउन छुटृै होमसेन्टरको व्यवस्था गरिएको र अहिलेको परीक्षामा सहभागी हुन नसकेका सङ्क्रमित विद्यार्थीले पछि पनि परीक्षा दिने पाउने जानकारी दिए । ‘सङ्क्रमित भएर पनि परीक्षामा सहभागी हुनसक्ने परीक्षार्थीलाई अलग्गै कक्षा कोठाको व्यवस्था गरेका छौं,’ उनले भने, ‘ती विद्यार्थी परीक्षा शुरु भएको आधा घण्टापछि परीक्षा केन्द्रमा प्रवेश गर्नेछन् । अन्य विद्यार्थीको सकिएको आधा घण्टाको समयसम्म परीक्षा दिन पाउनेछन्।’ बोर्डले २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयको परीक्षा केन्द्र दुईवटा हुने जनाएको छ ।
सदस्य सचिव अर्यालले अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने र यसले कोरोना संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले होम सेन्टरबाट परीक्षा गर्नु पर्ने अवस्था आएको बताएका हुन् ।
एसइईको नतिजा आन्तरिक मूल्यांकनबाट प्रकाशित गर्ने तयारी भएको तर कक्षा १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होमसेन्टरबाट परीक्षा लिन लागेको सदस्य सचिव अर्यालले बताएका हुन् ।
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले यस्तो निर्देशन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले परीक्षा केन्द्रमा चिकित्सक, नर्स र औषधिको व्यवस्था गरेर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने बताइन् । ‘परीक्षार्थीलाई महामारीबाट जोगाउन जनस्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरी परीक्षा सञ्चालन गर्नुपर्छ,’ उनले भनिन्, ‘सङ्क्रमितलाई छुट्टै कक्षा कोठा व्यवस्था गरिनुपर्दछ ।’
समिति सदस्य गिरिराजमणि पोखरेलले भौतिक उपस्थितिमा परीक्षा सञ्चालनका लागि शिक्षक र विद्यार्थीलाई खोप उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा विद्यालयले आफैँ आन्तरिक मूल्याङ्कन गरेर पठाउने क्रममा अनियमितता गरेकाले कार्यविधि परिवर्तन गरिनुपर्नेमा सु्झाव दिए ।
सदस्य विद्या भट्टराईले विद्यार्थीलाई भीडभाड नगरीकन परीक्षा दिनपाउने वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याइन् । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले समितिले दिएको सुझावअनुसार परीक्षा सञ्चालन गरिने बताए ।
बोर्डले परीक्षाका लागि अनलाइनबाट पनि प्रश्नपत्र पठाउने भएको छ । नब्बे प्रतिशत विद्यालयमा अनलाइनबाट र अन्य विद्यालयमा हाते प्रश्नपत्र पठाइने भएको छ । हाते प्रश्नपत्र र अनलाइनबाट पठाइएका प्रश्नपत्र भने फरक–फरक हुनेछन् । गत वर्ष ४० पूर्णाङ्कको मात्र परीक्षा भएकामा यसपटक १०० हुने भएको छ ।