Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमा नपच्ने हर्कत बढ्दो

हाम्रो कोशी आवाज
साउन १९ २०७८, मंगलबार
टिकटकमा नपच्ने हर्कत बढ्दो

धरानः टिकटक । धेरै युवापिढीको मुखैमा झुन्डिएको नाम बनेको छ, यो । तर टिकटकले विकृति भित्र्याएको भन्दै गुनासो गर्ने बढ्दै गएका छन् । एक व्यक्तिले फेसबुकमा पोष्ट्याउँदै प्रश्न गरे– टिकटकले गर्दा बालबालिकाको भविष्य अन्यौलतातिर गइसक्यो, अहिले सोंचे, कहिले सोंच्ने ?
यसबारेमा मैलेचाहिँ धेरै सोचेकै हो । एकदिन आफू टिकटकका सामग्री हेरिरहेको थिएँ, छोरा पनि सँगै थियो । एउटा नकारात्मक खालको भिडियो पनि अपलोड भएको पाइयो । त्यो भिडियो झट्ट आउँदा छोराले पनि नहेर्ने कुरा भएन । हत्त न पत्त बन्द गरें । छोराले नै भन्यो– ममी, यस्तो भिडियो त नलगाउनु नि, कस्तो छ्या ।
टिकटकको दुरुपयोग गर्ने बढेको देख्दा वाक्क लाग्छ । कतिपयले टिकटककै कारण नाम र दाम कमाएको फुर्ती लगाउँछन् । एक हिसाबले यो सही पनि हो । टिकटककै राम्रा र ओझेलमा रहेका प्रतिभा बाहिर फुत्तै निस्किएका पनि छन् । त्यसैले मलाई लाग्छ टिकटकले मज्जा कम, नमज्जा ‘फिल’ चाहिँ धेरै गराएको मेरो अनुभवले भन्छ ।
अहिले टिकटकले सामाजिक, विकृति, विसङ्गतिलाई बढवा दिन थालेको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा टिकटक प्रयोगकर्ता प्रयोगलाई दुरुपयोग गरिदिँदा यौनजन्य, अपराधजन्य, विविध नकारात्मक भिडियोहरू अपलोड भइरहेका छन् । भनौं, टिकटकमा निहीत स्वार्थ सूचना सम्प्रेषण, मनोरञ्जन र आफूमा भएको प्रतिभा प्रस्फुटन देखिएतापनि सदुपयोग गर्नुको साटो दुरुपयोग भइरहेको पाइएको छ । यस्ता प्रकारका सामग्रीले साना बालबालिकालगायत अन्य धेरैमा नकारात्मक असर पारेकै हुन्छ । सोचनीय विषय नै यही हो ।
बालबालिका वा अन्यले प्रतिभा देखाउँदा नक्कल हुनु राम्रो होइन । धेरैजसो अन्यकै कपीपेष्ट गरेर नक्कल वा अभिनय गरिरहेका हुन्छन् । मानिलिऔं, टिकटक भिडियो देखेको आधारमा नै हाम्रा बालबालिका सोहीअनुसार अभिनय गर्न नपुगुन् । मानौं, खोला, नदीनालाको छेऊछाउ कुदेको, पोखरीमा हाम फाल्ने, पासो लगाउने, सडक बीचमा हिँड्ने, हेलमेट नलगाई दगुर्ने, शरीरमा हातहतियारले काट्ने, विष पिउने आदि इत्यादि ।

अहिले अभिभावकको प्रश्न नै यही हो कि यस विषयमा सरकार किन बोल्दैन ? बालबालिका जिज्ञासु हुन्छन्, अभिभावकले आफ्ना नानीहरुलाई जिज्ञासु र असल बनाउन चाहन्छन् तरपनि टिकटक भिडियोका कारण बालबालिकाको भविष्य बिग्रिरहेको छ । अहिले अभिभावक गुनासो गर्छन्– मोबाइलले बालबालिका बिग्रिए । हुन पनि हो बिग्रिएका पनि छन् । उनीहरुको लत नै मोबाइलमै हुन्छ । यसो भइसकेपछि बालबालिकाहरु टिकटकलगायत अन्य सामाजिक सञ्जालमा भुलिरहेका हुन्छन् । पढ्नमा जोड दिनुपर्ने बालबालिका किन यसरी रमाइरहेका छन्, कतै बालबालिका गलत बाटोमा त छैनन् भनेर अभिभावकले पनि हेलचेक्रयाइँ र कन्जुस्याइँ गर्न भुल्न हुँदैन ।
बालबालिका मात्रै नभएर युवायुवतीको कमाइ खाने भाँडो नै बनेको छ टिकटक । सबैजनाले भविष्य नै टिकटकमा देख्न थालेपछि अवस्था के होला ? विचार गर्नुपर्ने दिन आइसकेको छ । टिकटकले धेरै बालबालिका र युवायुवतीको ज्यान समेत लिँदै आएको छ । धेरैजना टिकटकमा भाइरल हुने मोह बढ्दो छ । यस्तो मोहले नै नकारात्मक भिडियो हाल्ने प्रवृत्ति बढ्दो छ । समाजलाई अपाच्य हुने भिडियोहरु अपलोड हुनु र सामाजिक घटनाको जोखिम बढ्नु चिन्ताको विषय हो ।
टिकटकमा भाइरल हुने भन्दै अमानवीय कार्य गर्दै जोखिम मोल्ने बढेका छन् । जस्तैः टिकटक बनाउन भन्दै भीरपाखा कुद्दा लडेर ज्यान गुमाउने युवा पनि देखिइसकेका छन् । झोलुङ्गे पुलबाट खसेर, पासो लगाउँदा ज्यान गएका घटना पनि उदाहरणका रुपमा छन् । अझ महत्वपूर्ण कुरा त के हो भने टिकटक मनोरञ्जन मात्रै नभई एउटा लतकै विषय बन्नु दुःखद् हो ।
अहिले साना साना नानी बाबुदेखि वृद्धवृद्धाले समेत प्रयोग गर्ने गर्छन् टिकटकलाई । धेरैले त आफ्नो प्रतिभा टिकटकमा देखाएरै भविष्य सुनिश्चित समेत गरिसकेका छन् । टिकटकबाटै कलाकारितामा प्रवेश गर्नेको क्रम पनि बढ्दो छ । यसरी राम्रो गर्नेहरू अगाडि बढिरहेका छन् भने टिकटकमै नराम्रा गतिविधि देखाउनेहरुको इज्जत समेत माटोमा मिलेको छ ।
वास्तविकतालाई हेर्ने हो भने पछिल्लो समय टिकटकमा राम्रा भन्दा नराम्रा कन्टेन्टहरु पर्याप्त मात्रामा देखिने गर्छन् । यो सबै भाइरल हुने, भ्युज र फ्लोअर्स कमाउने लोभ मात्रै हो । जसले गर्दा राम्रो भन्दा नराम्रो कुरा चौतर्फी रुपमा समाजमा फैलिएको छ । अहिले हेरिने अधिकांश भिडियो परिवार सँगै बसेर हेर्न नमिल्ने खालका बन्दै गएका छन् । टिकटकमा विशुद्ध मनोरञ्जन र प्रतिभा निखार्ने खालका भिडियो हाल्दा भ्युज र फ्लोअर्स बढ्दैन भनेर गलत क्रियाकलाप गरेको हुनसक्छ । प्रतिभा निखार्नु, मनोरञ्जन प्रदान गर्नु सबैको दायित्व पनि हो भन्छु ।
सकारात्मक भन्दा नकारात्मक फैलियो भने समाज बिग्रिन कुनै समय लाग्दैन । राम्रा भन्दा नराम्रा कन्टेन्टको भण्डार बन्दै जानुचाहिँ दुःखद् हो । जुनसुकै कुराको पनि फाइदा र बेफाइदा हुने भएकोले हामी बेफाइदा भन्दा फाइदातिर ढल्किन सक्नुपर्छ । त्यसैले टिकटकको सही प्रयोग गर्नुपर्छ र अरुलाई पनि नराम्रो गर्नुहुन्न भनेर सम्झाउन सक्यौं भने सायद टिकटक अझै उपयोगी एप बन्न सक्छ ।
केही बौद्धिक व्यक्तिहरुले टिकटकलाई सामाजिक विकृतिको रुपमा चित्रण गर्दै आएका छन् । टिकटकले थुप्रैलाई स्टारहरु बनाइदिएको छ र छुट्टै पहिचान समेत दिलाइदिएको छ यो कसैले भुल्न हुँदैन । कारण के त भन्दा उनीहरुले प्रतिभा निखारे, त्यही प्रतिभाले पहिचान बनाए र स्टार बने ।
अहिले भाइरल हुने, धेरै फ्लोअर्स पाउन, टन्नै भ्यूज बटुल्न लालायित हुने हुँदा अश्लील सामग्रीको दबदबा छ । यो रोक्न सकिन्छ ? मेरो प्रश्न यो पनि हो । अन्त्यमा मैले आशा मारेको छैन, टिकटकमा देखिने भिडियोहरु सन्देशमूलक, जानकारीमूलक, मनोरञ्जनपूर्ण, समाजलाई सकारात्मक सन्देश छर्ने विषयले प्राथमिकता पाओस्, मैले सुन्न र हेर्न पाऊँ टिकटकमा मज्जा धेरै, नमज्जा कम ।
अब नेपालमा टिकटक बन्द होला या नहोला ? जनताहरुमा चासोको विषय बनिरहेको छ । सरकार हरेकको बालबालिका र युवायुवतीको भविष्यलाई उज्ज्वल देख्न चाहन्छौं भने कि टिकटक बन्द गर कि राम्रा कन्टेन्टलाई ध्यान देऊ, नराम्रालाई डिलिट हान । यसो भएन भने मेरो टिकटकको भिडियो त भाइरल भयोे भन्दै नराम्रा कन्टेन्टतिर युवापिढी दगुरिरहनेछन्, यसले कसलाई फाइदा गर्छ, त्यो त देखिहालिन्छ नि ।

प्रकाशित मिति: साउन १९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend