धरानः गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को उपाधि किरण गजमेरले जितेका छन् ।
ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । फिनालेमा चार जनामध्ये उनी ‘द भ्वाइस अफ नेपाल–३’ विजेता घोषित भएका हुन् । दर्शकले दिएको भोटको आधारमा प्रतिस्पर्धीमध्ये उनी विजेता घोषित भएका हुन् । उनले २५ लाख नगद पुरस्कार पनि पाए । यस्तै, फस्ट रनरअप ताराश्रीश मगर घोषित भइन् । यस्तै, सेकेण्ड रनरअप आर्यन तामाङ बने । टप ४ फाइनलिष्टमा ज्वाला राई परे ।
फिनालेमा टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टिम प्रमोद खरेलबाट किरण गजमेर, टिम लामाबाट तारा श्रीश मगर र टिम तृष्णा गुरुङबाट ज्वाला राई प्रतिस्पर्धा गरेका थिए । शो को फाइनलमा भिड्ने चार प्रतिस्पर्धीबीच निकै कडा प्रतिस्पर्धा चलेको थियो ।
किरण गजमेर टिम प्रमोदबाट फाइनलमा प्रवेश गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका किरण झापाको खुदुनाबारी शिविरमा जन्मेका हुन् । उनले सेमिफिनालेमा सिक्किमका रवि गहतराजलाई पछाडि पार्दै फाइनलमा पुगेका हुन् । रवि र किरणबिच कडा प्रतिस्पर्धा चलेको थियो । तर कार्यक्रमको नियमअनुसार एकजना बाहिरिनु पर्ने थियो । प्रतियोगिताको विजेताले नगद पुरस्कारका साथै वर्ल्ड टूरको पनि मौका पाउनेछ । यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।
