धरानः सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।
सत्ता गठबन्धनले कोभिड–१९ विरुद्धको असोज मसान्तभित्र एक तिहाइ चैतभित्र सबै नागरिकलाई खोप लगाउने घोषणा गरेको छ ।
सिंहदरबारमा आयोजित कार्यक्रममा गठबन्धनको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चैत मसान्तसम्म सबैलाई खोप उपलब्ध गराउने बताएका हुन् ।
यस्तै, कोभिड–१९ विरुद्धको भ्याक्सिन उत्पादनक लागि नेपालमै ल्याब स्थापना पहल गर्ने भएको छ । आइतवार सार्वजनिक गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम अन्तर्गत ‘कोभिड–१९ बाट उत्पन्न महाविपत्तिबाट मुक्ति’ उपशीर्षकमा सरकारले यस्तो उल्लेख गरेको छ ।
‘कोभिड–१९ को खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने’, साझा कार्यक्रममा भनिएको छ, ‘कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अस्पताल लगायत भौतिक पूर्वाधारको विकासमा प्राथमिकता दिने ।’
न्यूनतम साझा कार्यक्रमबाट केही विवादित विषय हटाइएको छ भने केही थपिएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
यसअघि सार्वजनिक भएको कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत लैजाने उल्लेख थियो । त्यसको विरोध भएपछि त्यसलाई संशोधन गर्दै ‘प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने’ उल्लेख गरिएको छ ।
त्यस्तै यसअघि ‘समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ मात्रै उल्लेख गरिएकोमा त्यसमा केही परिर्माजन गरी लिम्पियाधुरा र कालापानीको नाम उल्लेख गरिएको छ । गठबन्धनका शीर्ष नेताहरूले अन्तिमरूप दिएपछि सच्चिएको कार्यक्रममा भनिएको छ, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने ।’
यसअघि राखिएको ‘राष्ट्रिय सुरक्षाको जिम्मा सुरक्षा फौजको मात्र नभइ सम्पूर्ण नागरिकको हो भत्रे मान्यतालाई स्थापित गर्ने’ भन्ने वाक्यांश पनि यसपटक हटाइएको छ । यसमा पनि गठबन्धनभित्रै विरोध भएको थियो । अहिले यो अंश नै हटाइएको छ ।