Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सन्तानलाभमा साइत नफापेको राष्ट्रियगान सर्जक व्याकुल माइला दम्पत्ति

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
सन्तानलाभमा साइत नफापेको राष्ट्रियगान सर्जक व्याकुल माइला दम्पत्ति

धरानः सामान्यतया सन्तान प्राप्तिको अवधि ९ महिना हुन्छ । आमा गर्भवती भएको ९ महिनामा बच्चालाई जन्म दिन्छिन् । तर यो औसत समय सबैमा लागु हुँदैन । कोहीले ८ महिनामै त कोहीले ९ महिना पनि कटाउँछन् । फेरि हाम्रो नेपाली समाजमा सन्तान प्राप्तिका लागि शुभ साइत हेर्ने चलन पनि छ । खासगरी चिकित्सा सहयोगमा सन्तान प्राप्त गर्ने अवस्थामा साइत हेर्ने चलन छ ।
राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) दम्पतीले पनि सन्तान प्राप्तिको चरणमा साइत हेर्‍यो । गर्भवती श्रीमती नानुकलाको सल्लाहमा माइलाले ज्योतिषसँग साइत हेराउँदा १४ भदौ सोमवार विहान ७ देखि ९ बजेको तिथिमिति तय भयो । पाटन अस्पतालमा १४ गते अप्रेशन गर्ने मनिस्थिति माइला दम्पती बनायो । सोही अनुसार १० गते नियमित फ्लोअप रिपोर्ट पनि हेरियो । डाक्टर पवन शर्माले १३ गते अपरेशन तय गरे ।
तर जन्म र मृत्यु मनुष्य वा चिकित्सकको हातमा कहाँ छ र । यो त दैवको लिला हो । नियमित फ्लोअपका क्रममा गर्भवती नानुकलाले आफ्नो असहज अवस्थाबारे जानकारी गराएपछि डाक्टर शर्माले जोखिम लिन नसकिने भन्दै विशेष निगरानी (अब्जर्वेशन)मा राखे । निगरानीका क्रममा त्यहीँ दिन (१० भदौ) अप्रेशन गर्नुपर्ने भयो । यसअनुरूप अपरेशन थियटर (ओटी) को पालो पर्खिदा पर्खिंदै पुत्रीका रुपमा नयाँ सन्ततिको जन्म बेलुका ८ बजेर २० मिनेटमा भयो । आमा ओटीबाट करिब १० बजेतिर रिकभरी वार्डमा सिफ्ट भइन् ।
‘मानिस जन्मिनुपर्ने दिन र समय आफ्नै हुँदोरहेछ,’ साइत नफापेपछि माइलाले भनेका छन्, ‘प्रतिक्षारत् हाम्रो नयाँ सन्ततिको जन्म आफ्नै समयमा भयो ।’
माइलाका अनुसार अहिले आमा र नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो छ । ‘व्यग्र प्रतिक्षाको घडी सकिएर नवजात शिशु हाम्री प्यारी सानी छोरी हामीले पहिलोपटक देख्न पाएको क्षण’ भन्दै माइलाले शिशुको तस्विर शेयर गरेका छन् ।
माइलाले अगाडि भनेका छन्, ‘उनको आमाको गर्भमा घुन्टुङ घुन्टुङ चल्न थालेपछि मैले बोलाउने गरेको उनको नाम ‘घुन्टुङ’ हो । न्वारानको लागि उपयुक्त नाम सोचिँदै गरेको अवस्था । अर्थपूर्ण र छोटो । त्यस्तो भेटिए जानकारी पाऊँ हजुर हो ।’

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend