Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पनि मनाइयो संविधान दिवस

हाम्रो कोशी आवाज
असोज ३ २०७८, आइतबार
धरानमा पनि मनाइयो संविधान दिवस

धरानः धरानमा पनि राष्ट्रिय संविधान दिवस मनाइएको छ ।
आइतबार बिहान कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, उपमेयर मञ्जु भण्डारी (सुवेदी) ले भानुचौकमा झण्डातोलन गरेर संविधान दिवसको उद्घाटन गरेका थिए । झण्डातोलनपश्चात धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक हलमा संविधानमा भएका मौलिक हकसम्बन्धी गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक अमृतकुमार श्रेष्ठले मौलिक हक र स्थानीय तहको भूमिकाबारे जानकारी गराएका थिए । काठमाडौंमा रहेका उनले जुममार्फत् सो बारे जानकारी गराएक थिए ।
सभामुख भण्डारीले राष्ट्रिय संविधान दिवसको शुभकामना दिँदै संविधान दिवस ७ औं वर्ष पूरा गरी ८ औं वर्षमा प्रवेश गरेको बताए । उनले प्रदेश सरकारले ५६ वटा मात्र कानुन निर्माण गरेको तर कार्यान्वयनमा समस्या रहेको बताए । उनले स्थानीय तहले भूमिका खेलिदिए मौलिक हक कार्यान्वय र कानुन कार्यान्वयनमा समस्या नहुने धारणा राखे ।
‘कानुन त बनेका छन् तर कतिपय कानुन कार्यान्वयनमा अहिले पनि समस्या छ’, उनले भने, ‘अभ्यासकै क्रममा रहेकोले पनि यो भएको हुनसक्छ तर स्थानीय तहले महत्वपूर्ण भूमिका निभाए मौलिक हक कार्यान्वयन र कानुन कार्यान्वयनमा समस्या हुँदैन ।’
स्थानीय सरकार अधिकार सम्पन्न बनाएर अगाडि बढाउनुपर्ने उनको धारणा थियो । ‘अहिले प्रदेश सरकारकै मातहतमा स्थानीय तहलाई ल्याउनुपर्छ भन्ने कुरा पनि नउठेको होइन’, उनले भने, ‘तर स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर अगाडि बढाउन सकियो भने मात्र लोकतन्त्र, गणतन्त्र अझ मजबुत भएर जान सक्छ ।’ जनताको ताली खाने पनि, गाली खाने जनप्रतिनिधि नै भएको बताउँदै उनले स्थानीय सरकारले कानुनभन्दा बाहिर गएर काम गर्न नहुने बताए ।
उपमेयर भण्डारीले स्थानीय सरकारले काम गर्दा भौतिक विकासलाई मात्र प्राथमिकता दिएको बताउँदै संविधान निर्माणमा कमै प्राथमिकता रहेको बताए । धरानमा बालमैत्री स्थानीय शासन लागू गर्ने तयारी गरिरहेको उनले बताइन् । अहिले जनप्रतिनिधि आएपनि पहिलो कार्यकाल भएको कारण सिक्ने र सिकाउने काम मात्र भइरहेको उनको भनाइ थियो । कार्यक्रममा धरान उपमहानगरपालिका कर्मचारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: असोज ३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend