भनिन्छ, ‘महिनावारी’ सामान्य विषय हो । हामी महिला महिनामा ४ दिन अनिवार्य एस महिनावारीले दिने पीडासँग जुध्नुपर्छ, एक त हप्ता दिनसम्म लगातार ब्लड गइदिन्छ । महिनावारी हुँदा सबैभन्दा अनिवार्य आवश्यक पर्ने सामाग्री प्याड हो । महिनामा ४ देखि ६ दिनसम्म त हुन्छ भनेर सामान्य लाग्न सक्छ तर ११ वर्षको उमेरदेखि सुरुवात हुने महिनावारी सामान्य परिवार, कम आयस्रोत र विद्यार्थी जीवनमा रहेका किशोरीहरुको लागि प्याड किन्नुपर्दा महङ्गो पर्न जान्छ । भनिन्छ, ६–६ घण्टामा प्याड फेर्नुपर्छ तर धेरै रक्तस्राव हुने महिलाहरुको ४ घण्टा मा समेत फेनुपर्ने हुन्छ । कपडा प्रयोग गर्दा गर्मीमा पासी घाउ हुनेलगायतका धेरै अन्य समस्या देखिन्छ । विद्यार्थीहरुका लागि विद्यालयमा गुणस्तरीय प्याडको व्यवस्थापन हुन नसक्दा पढाइ छाडेर घरसमेत पनि जानुपर्ने बाध्यता हुन्छ । स्वास्थ्य चौकीमा जाँदा कण्डम सजिलै पाइन्छ तर प्याड उपलब्ध हुँदैन । त्यसैले सारमा भन्दा प्याड सबैले प्रयोग गर्न सक्ने मूल्यमा उपलब्ध गराइदिनु परयो सरकार ।
सहरी क्षेत्रका महिलाहरुले त प्याड सजिलै पाउन सक्छन् । तर ग्रामीण क्षेत्रका महिलाहरुका लागि यो निकै चुनौतिको विषय बन्न पुगेको छ । महिला राष्ट्रपति भएको हाम्रो देशमा महिलालाई आवश्यक पर्ने प्याडको मूल्यले आकासिन थालेको छ । त्यसबेला मा हुने डिप्रेसन, ब्याक पेनलगायतको समस्या साथै पीडाहरू सहनुपर्ने हुन्छ । अझ कुनै पनि वडा कार्यालयहरु अथवा अन्य कुनैपनि संघ संस्थामा महिला कर्मचारी अवश्य पनि हुन्छन् तर त्यस्ता कार्यालयहरुमा कुनै पनि प्याडको व्यवस्था वा आराम गर्ने अन्य कुनै मैत्रीपूर्ण कक्षाहरूको व्यस्थापन गरिएको हुँदैन । महिलाहरु पनि प्याड किन्न जाँदा लजाएर कालो प्लास्टिकमा पत्रिकाले बेरेको ल्याएको मैले प्रत्यक्ष देखेको छु ।
महिनावारी भएका युवतीहरुले बजारमा पाइने प्याडको प्रयोग नै गर्दैनन् । घरमा पाइने कपडा प्रयोग गर्छन् । उनीहरुलाई प्याड प्रयोगका बारेमा थाहा नहुँदा र स्थानीय पसलहरुमा नपाउँदा समस्यामा परेका छन् । अधिकांशलाई किशोरीलाई महिनावारी हुँदा त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने ज्ञान हुँदैन । महिनावारी हुँदा स्यानिटरी प्याड कहाँ पाइन्छ ? कति मूल्य पर्छ ? कसरी प्रयोग गर्नुपर्छ ? किन गर्नुपर्छ ? भन्ने जस्ता कुरा हुर्कंदै गरेका किशोरीहरुलाई खासै थाहा हुँदैन ।

त्यसैकारण पनि स्वास्थ्यमा समस्या आउने हुन्छ । सरकारका ध्यान जान जरुरी छ । नेपालको धेरै ठाउँमा प्याड पुग्न जरूरी छ र प्याडको मूल्य कम हुनुपर्छ सकेसम्म निःशुल्क नै हुनुपर्छ । हामीलाई थाहा छ प्याडको एकदमै महत्वपूर्ण र आवश्यकता छ । प्याड प्रयोग गरिरहँदा विद्यालयमा डिस्पोज गर्ने ठाउँ हुँदैन । जथाभावी फ्याँक्दा प्रदुषण फैलिन जान्छ । विद्यालयमा शौचालय, साबुन पानी र स्यानिटरी प्याड, डिस्पोजल पिट अत्यन्तै आवश्यक देखिन्छ । विशेषगरी ग्रामिण भेगका विद्यालयका छात्राहरू यस्तो समस्याबाट बढी पीडित छन् । त्यसैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि सबै किशोरीहरुका लागि पुनः प्रयोग गर्ने सेनेटरी प्याड बनाउन तालिम दिन महत्वपूर्ण विषय रहेको छ ।
पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने भन्ने विषयले चर्चा भने नपाएको होइन तर व्यवहारमा अझै कार्यान्वयन हुन सकेको छैन । एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५ वर्ष) गरेदेखि करिब ५०–५२ वर्षको उमेरसम्म मासिक धर्म अर्थात् महिनावारीलाई बेहोर्नुपर्छ । खर्चकै हिसाबले पनि यो महङ्गो पर्छ ।
विद्यालयमा पढ्दै गरेका किशोरीहरुलाई विशेषगरी महिनावारीको समयमा आवश्यक पर्ने स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । यो सुखद् पक्ष हो । भनियो पनि–अब किशोरीले स्यानेटरी प्याड नपाएर विद्यालयबाट घर फर्किनुपर्ने छैन । बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले ‘सरकारी विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिने छ’, भने । त्यसपछि कार्यान्वयन पनि भयो । तर जताततै कण्डमजस्तै यो प्याड सहजै पाइँदैन ।
सरकारले निःशुल्क कण्डम वितरण गर्न थालेको धेरै भइसकेको छ, कण्डम निःशुल्क बाँड्नाले यौनरोग र जनसंख्या वृद्धि रोक्न मद्दत त पुगेको होला । तर, महिनावारीलाई रोक्ने अन्य विकल्पको प्रयोग गर्न सम्भव छैन । त्यसैले अब कण्डमजस्तै प्याड पनि निःशुल्क वितरण गर्न थालियोस् । सेनेटरी प्याडलाई कण्डमलाई जस्तै फ्री गरेर जनस्वास्थ्य अभियानमा लगिनुपर्छ । महिला सशक्तिकरणका जति नै नारा घन्काए पनि त्यो फितलो हुन्छ । सेनेटरी प्याडको पहुँचले, यात्रा, दैनिक जीवन, काम, सबैतिर उनीहरु सहज महसुस गर्नेछन्, उनीहरुको प्रजनन स्वास्थ्य राम्रो हुनुका साथै, उनीहरुमा आत्मविश्वास पनि बढेर जान्छ ।
(धरानकी पुष्पा प्लान तथा सिएसडिसी इटहरीको सहकार्यमा सञ्चालन भइरहेको परियोजनामा कार्यरत छिन् ।)