‘सिम्प्लिसिटी इज दि अल्टिमेट सोफिस्टिकेसन ।’ अर्थात् सरलता सबैभन्दा सर्वोच्च र अन्तिम सौन्दर्य अथवा शृङ्गार हो । यो विचार बहुमुखी प्रतिभाका धनी लियोनार्दो दा भिन्चीको विचार हो । सायद उनले जीवनका अनेक अनुभूतिहरूको निष्कर्षस्वरूप यसो भनेका हुन सक्छन् । हुन पनि कतिपय कुरा जम्मा गर्ने क्रमको सुरुआतमा त्यसलाई कसरी पाउने भन्ने कुरा हामीलाई ठूलो लाग्छ, तर जब पाउँछौँ, प्रशस्त जम्मा गर्दछौँ वा हामीले चाहेखोजेको कुराले भरिन्छौँ, त्यसपछि मात्र बल्ल त्यसको निरर्थकताको अनुभूति हुन्छ । जब मोबाइल फोनको सुरुआत हुँदै थियो, हामी कम्ता रमाएनौँ । सानो मोबाइल, गोजीमा हालेर हिँड्न मिल्ने । धेरै मानिसका नम्बरहरू सेभ गरेर जतिखेर चाह्यो, त्यतिखेर बोल्न मिल्ने ।
सुरुसुरुमा त मोबाइलमा घन्टी बजेर हामीले कुरा गर्दा र अरुलाई सुनाउन, देखाउन पाउँदा कम्ति रमाइलो लाग्थेन । आज हातमा मोबाइल भएको पनि दसौँ वर्ष बितेका छन् । कति मानिस जोडिए, छोडिए । आज कसैले मोबाइलमा फोन गर्दा पनि झर्को लाग्ने भएको छ । त्यतिमात्र होइन, यदि खुसी हुनु छ, तनावरहित हुनु छ भने मोबाइललाई कि त बन्द गरिन्छ, कि त घरमै कतै छोडेर हिँडिन्छ । हिजो घर, आँगन, कोठाचोटा, गोजी जतिखेर पनि बोकेर हिँड्ने मोबाइल फोन आज आफूसित नराख्दा अथवा छोडेर हिँड्दा आनन्द लाग्छ ।
यसको अर्थ के हो ? यो निकै विचारणीय विषय छ । खुसी केमा रहेछ त नि ? छोड्नुमा कि जोड्नुमा ? कुनै पनि कुरा हुनु वा नुहुनुले व्यक्ति खुसी वा दुःखी हुने होइन रहेछ । व्यक्ति खुसी हुने वा दुःखी हुने कुरा उसको समय, अवस्था र परिवेशको सापेक्षमा रहेछ । एउटा व्यक्तिले भारी नबोक्दा वा बोझ नहुँदा हलुका हुन्छ, प्रसन्न हुन्छ । तर, उसलाई केही न केही बोकूँबोकूँ हुन्छ र बोक्छ । भारी बोकेर उकालोे उक्लन थालेपछि सुरुमा त केही हुँदैन, तर विस्तारै गह्रुँगो हुन थाल्छ । जब धेरै गह्रुँगो हुन्छ, अनि चौतारामा वा कतै जमिनमा शरीरमा बोकिएको भारी बिसाउँछ । जब भारी बिसाउँछ, वा त्याग्छ, अनि बल्ल उसलाई आनन्द आउँछ । अर्थात् सरल भएपछि नै खुसी आउने रहेछ ।
विद्वान्हरूले सरल अर्थात् थोरै हुनु, कम हुनु वा सामान्य हुनुलाई धेरै ठूलो शक्ति, सौन्दर्य र सुख मानेका छन् । ‘लाइफ इज रियल्ली सिम्पल, बट वि इन्सिस्ट अन मेकिङ इट कम्लिकेटेड ।’- कन्फ्युसियसको यो विचार पनि अत्यन्त मननीय छ । जीवन अन्यन्त सरल छ, तर हाम्रा कारण यो बोझिलो वा दुरुह हुन पुग्छ । सरलतामा जुन सौन्दर्य छ, त्यसको तुलना कसैसित हुन सक्दैन । एउटा सानो बालक कति सरल हुन्छ, कुनै शृङ्गार गरेको हुँदैन, तर पनि किन सबैले उसलाई काखमा लिन खोज्छन् ? किन उसका गाला टोक्न खोज्छन्, किन म्वाइ खान्छन् ? यो पनि निकै रहस्यपूर्ण छ । यो विषयलाई सम्बोधन गर्ने विचार रविन्द्रनाथ टेगोरको छ । उनी भन्छन्, ‘दियर इज ब्युटी इन सिम्प्लिसिटी ।’ अर्थात् सरलतामा नै सौन्दर्य हुन्छ ।
महान् मानिसले धेरै शृङ्गार गर्दैनन् नि ! महात्मा गान्धीको के शृङ्गार छ र ? मदर टेरेसा, विवेकानन्द, रामकृष्ण परमहंस भन्नुस् वा अन्य कुनै प्रसिद्ध व्यक्ति । ती सबैको विशेषता एउटै छ: ती सरल छन् । ‘सिम्प्लिसिटी इज दि कि अफ ब्रिलियन्स ।’ अर्थात् विशिष्टताको पहिचान सरलता हो भनेर ब्रुस लीले त्यसै भनेका होइनन्, सायद ।
सोग्याल रिम्पोछेले भनेका छन्, ‘द कि टु फाइन्डिङ अ ह्याप्पी ब्यालेन्स इन मोडर्न लाइफ इज सिम्प्लिीसिटी ।’ अर्थात् आधुनिक समयमा सुखद सन्तुलन कायम गर्ने उपाय भनेको सरल हुनु हो । तपाईँहामी केही नहुने हुनु सिद्धिनु हो, समाप्त हुनु हो भन्ने ठान्छौँ, तर हेर्नुस् त सबैथोक हुनेहरू भने केही नुहुनुलाई नै जीवनको विशिष्टता मानिरहेका छन् । तसर्थ, सरल हुनुको अर्थ व्यक्ति झन् धेरै विशिष्ट हुनुरहेछ । त्यसैले, ‘सिम्प्लिसिटी इज दि अल्टिमेट सोफिस्टिकेसन ।’ भन्ने कुरा प्रमाणित हुन्छ ।
नदी, हिमाल र चराचुरुङ्गीको सौैन्दर्य
कलकल बग्ने नदीहरूलाई हेरौँ । कति मनमोहक छन् ! गएर नदीको पानी छोऊँछोऊँजस्तो लाग्छ, पौडौँ—पौडौँ लाग्छ । नदीको पानीमा कुनै रङ छैन । निरन्तर बगिरहेको नदीको पानी सफा, स्वच्छ र कञ्चन छ । मानिसहरू आफ्नो जमेको मैलो यहि नदीको निर्मल पानीमा आएर पखाल्छन् र पवित्र बन्दछन् । नदीको पानीमा अरु कुनै रङ घोलेर, मसला हालेर वा नुन मिसाएर राखिएको भए कहाँ मानिसहरू स्नान गर्न आउँथे र ! कुनै पनि रङ नभएकाहरूले मात्रै अनेक रङले रङ्गिएकाहरूका रङहरू धोइपखाली गर्ने हुन् । यदि नदी आफैँ रङ्गिन हुन्थ्यो भने न कोही त्यहाँको पानी पिउन आउँथ्यो, न स्नान गरेर मल पखाल्न नै ।
उत्तरतिर मिलेर बसेका दाँतका लहरजस्ता हिमाललाई हेरौँ । कति आकर्षक छन् । ती हिमाल पनि सेतै छन्, त्यस्तो कुनै पनि उल्लेखनीय रङ छैन । न तिनले कुनै वस्त्र पहिरिएका छन्, न त कुनै खास शृङ्गार नै छ । बस्, जस्ता जन्मिए त्यस्तै छन् । जसले पनि उनीहरूको हिउँ छोएर आनन्द लिन सक्छ, जसले पनि त्यहाँ चिप्लेटी खेल्ने पहुँच राख्छ, यदि अदम्य उत्साह छ भने । न कुनै शृङ्गार, न कुनै विशेष साजसज्जा, तर पनि मानिस यही सादा हिमाल हेर्न पाउँदा नोबेल पुरस्कार नै पाएजस्तो गर्दछन् । उनीहरूमा खुसीको कुनै सीमा हुँदैन ।
आकाशमा बेपरवाह उँडिरहेका चराचुरुङ्गीलाई हेरौँ । कति आनन्दित छन् । जता गए पनि भयो, खाए पनि भयो, न खाए पनि भयो । गाँस, बास र कपासको कुनै चिन्ता छैन । न यिनलाई कुनै विशेष शृङ्गार नै गर्नु छ, न कुनै विशेष साजसज्जाको आवश्यकता नै छ । जे छन्, त्यत्तिमै जीवन गुज्रन्छ यिनीहरूको । आकाशमा माथिमाथि र टाढाटाढासम्म उँडान भरेर स्वतन्त्रताको असीम आनन्द लृटेको देख्दा हामी पनि मख्ख पर्दछौँ । हरेक चित्रकार चराचुरुङ्गीलाई चित्रमा समेट्न चाहन्छ, कविहरू कवितामा समेट्न चाहन्छन् भने सङ्गीतकारहरू सङ्गीतमा समेट्न पाउँदा धन्य महसुस गर्दछन् । हामी कसैले पनि चराचुरुङ्गीलाई ठूलो घर, परिवार, गाडी आदि देखेर मन पराएका होइनौँ, बरु ती केही पनि नभएकाले मन पराएका हौँ, अर्थात् उनीहरूको जन्मजात सादगीले हामीलाई तानेको हो ।
चराचुरुङ्गी, हिमाल र नदीनालापछि वनजङ्गललाई हेरौँ । त्यहाँ पनि कुनै विशेष सजिसजावटको अवस्था छैन । ठूलाठूला पाँच तारे होटलमा बनाइएका पार्कले भन्दा वनजङ्गलभित्रको सौन्दर्यले हाम्रो मन तान्छ । हरेक बोटबिरुवाहरू सर्वाङ्ग नग्न छन्, लुकाउनु पनि केही छैन, देखाउनु पनि केही छैन, तापनि मानिसहरू उनीहरूलाई देख्न पाउँदा अहोभागी ठान्दछन् । मानिसहरू जङ्गल घुम्न पाउँदा सबै बिर्सन्छन् । वनको शान्ति, जीवजनावरको उपस्थिति, चराचुरुङ्गीको चिरबिर र कीराफट्याङ्ग्राको कीरकीरबाहेक जङ्गलमा के नै छ र ! अत्यन्त सादा, अत्यन्त सामान्य जीवन छ । तर, हामी त्यही हेर्न जङ्गल जान्छौँ ।
वनजङ्गल र हावामाटोको सौन्दर्य
वनजङ्गलपछि जीवजनावरलाई हेरौँ । कुनै कपडाले जिऊ ढाकेका छैनन् । कुनै शृङ्गारपटार छैन । कुनै त्यस्तो खास विशेषता पनि छैन । जङ्गलका घाँसपातले जीवन चलेको छ । उनीहरूको भान्सामा कहिल्यै विशेष परिकार पाक्दैन । न त दसैँ, तिहारजस्ता चाडपर्वले उनीहरू प्रभावित हुन्छन् । अत्यन्त सादा, अत्यन्त सामान्य । मानिसहरू यही सादगी हेर्न समुद्रपारिबाट आइपुग्छन् । गैँडा, बाघ, बाँदर, भालु हेर्न पाउँदा मानिस दङ्ग पर्छ । जनावरको सरलता कति महँगो रहेछ भन्ने कुरा यसबाट पनि स्पष्ट हुन्छ ।
अब एकछिन हावा र माटोलाई पनि हेरौँ । न हावामा मसला छ, न माटोमा नुनखुर्सानी नै । कुनै स्वाद छैन, त्यस्तो विशेष । लाखौँ तिरेर किन्नुपर्ने पनि छैन । कति सस्तो, कति सुलभ ! तर यसको महत्त्वको वर्णन कसरी गर्नु ! मानिसहरू एकछिन हावा नभई, माटो नभई बाँच्न सक्दैनन् । मानिस मात्रको के कुरा हावा, माटो, घाम, पानी र आकाशविना संसारै सम्भव छैन । यी सबै कति आकर्षक !
सानासाना बालबालिकाको सौन्दर्य
भर्खरै जन्मिएका सानासाना बालबच्चालाई हेरौँ, जीवजनावरका बच्चाबच्ची हेरौँ । कति राम्रा ! कति सुन्दर ! साना केटाकेटीको जिऊमा कुनै कपडा हुँदैन । न उनीहरूले मिठोसँग मिलाईमिलाई बोल्न नै जान्दछन्, तर पनि तिनकै बोली मिठो लाग्छ, तिनकै हिँडाई मिठो लाग्छ । दुई वर्षको सानो बालक लड्दै-पड्दै हिँड्दा हामी ध्यानस्थ भएर त्यसको मजा लिन्छौँ, जुन मजा कुनै सुन्दरी प्रतियोगितामा क्याटवाक गर्दै गरेकी सुन्दरीलाई हेरेर लिन सक्दैनौँ । बोलीमा पनि आकर्षण, हिँडाइमा पनि आकर्षण, बसाइमा पनि आकर्षण, सबैमा आकर्षण । के कुनै प्रौढले सानो बालकले जसरी हामीलाई सबै कुराले आकर्षित गर्न सक्ला ? कहिल्यै सक्दैन । त्यो बालक प्रकृतिजस्तै सरल छ, खुला र सादा छ, त्यसैले सुन्दर । उसलाई पनि केही लुकाउनु छैन, केही देखाउनु छैन ।
योगी वा सन्तमहन्तहरूको सौन्दर्य
अब प्रकृतिपछि सन्तमहन्तहरूलाई हेरौँ । महात्मा गान्धीले कहिल्यै महँगा कपडा लगाएनन्, तर पनि उनलाई सारा मानिसले मन पराउँछन् । कपडाको सानो भागले उनका गुप्ताङ्ग छोपिएका मात्र छन्, तर बाँकी सोह्रशृङ्गारमा उनले कुनै प्रयास गरेनन्, तापनि उनले जति मानिसलाई आकर्षित गर्ने शक्ति ब्युटी पार्लरमा गएर सोह्रशृङ्गार गर्ने कुन सुन्दरीमा होला ? गौतम बुद्धले जति मानिसलाई यो दुनियाँमा कसले आकर्षित गर्यो होला र ! उनी पनि धन, सम्पत्ति, घरबारी, मोजमस्ती, भोजभतेर, नाताकुटुम्ब सबै प्रशस्त भएकाले मानिसले उनलाई मन पराएका होइनन्, बरु ती सबै नभएकाले मानिस उनीप्रति आकर्षित भएका हुन् । रमण महर्षिको नाम पनि सायद सुन्नुभएकै होला । उहाँले पनि कहिल्यै भौतिक उन्नति र सम्पन्नताको चिन्ता गर्नुभएन । शरीरमा सानो लगौँटीबाहेक केही हुँदैनथ्यो उहाँको । तर, पनि देशदेशावरबाट उहाँको दर्शन गर्न आउनेको सङ्ख्या लाखौँमा हुन्थ्यो र त्यो क्रम आज पनि जारी छ । साधनाको परिपाकमा रहेका खप्तडबाबा, शिबपुरी बाबा, रामकृष्ण परमहंस आदि सबैको जीवन अत्यन्त सरल थियो, त्यसैले आकर्षक थियो ।
हामीले नदी, हिमाल, वनजङ्गल, चराचुरुङ्गी, जीवजनावर, बालबच्चा, साधुसन्त र महापुरुषहरूलाई हेर्यौँ र उनीहरू आकर्षक देखिनुको रहस्य थाहा पायौँ । रहस्य के भने जो जति सरल हुन्छ, त्यो त्यति नै भव्य हुँदोरहेछ, त्यति नै आकर्षक हुँदोरहेछ । मानिसले जति सङ्ग्रह गर्दछ, जति अप्राकृतिक शृङ्गार गर्दछ, जति जटिल जीवन बाँच्दछ, ऊ एकाङ्की हुँदै जान्छ, रोगी हुँदै जान्छ र निरर्थक जीवनको सिकार बन्न पुग्दछ । हामी धेरै भए धन्य हुन्थ्यौँ कि भन्ने कुरा जानेर पनि बिर्सन्छौँ । आफू भने रमाउनका लागि केही नभएका नदीनाला, पाखापखेरा, हिमाल, वनजङ्गल, चराचुरुङ्गी र बालबच्चाको नजिकमा जाने, तर अरुलाई आकर्षित गर्न भने नानाथरी भोगविलासका वस्तुको सङ्ग्रहमा लाग्ने ! यसरी, कसैलाई आकर्षित गर्न पनि सकिँदैन र आफू आनन्दित पनि बन्न सकिँदैन ।
कुरूप भन्नु नै जटिलता
जटिल कुरा कहिल्यै पनि राम्रो हुँदैन । एउटा शिशु जति प्रिय हुन्छ, बिस्तारै ऊ बढ्दै जाँदा उसप्रतिको आकर्षण पनि कम हुँदै जान्छ, किनकि उसमा बिस्तारै जटिलता हाबी हुँदै जान्छ । उसमा अलिकति लोभको विकास हुन्छ, अलिकति गणितको विकास हुन्छ, अलिकति क्रोधको आसक्ति हुन्छ भने अलिकति काम र वासनाको पनि विकास हुन्छ । अर्थात् मानिस काम, क्रोध, लोभ र मोहजस्ता कुराका कारण जटिल बन्दै जानेरहेछ । जब मानिस लोभी हुन्छ, अनि उसले धेरै वस्तु सङ्ग्रह गर्न थाल्छ, बटुल्न थाल्छ र ती वस्तुबाट टाढिनु पर्दा दुःखी हुन्छ । त्यसपछि उसको सरलता हराउँदै जान्छ ।
मानिस रोगी हुनु र दुःखी हुनुमा उसको यही जटिल जीवनशैली मुख्यरूपमा कारक हो । जब तपाईँको जीवन स्पष्ट हुँदैन, पारदर्शी हुँदैन, त्यही तपाईँको जटिल जीवन हो । जीवन त नदीको पानीजस्तै कञ्चन हुनुपर्छ, हिमालको कान्तिजस्तै उज्ज्वल हुनुपर्दछ र हुनुपर्दछ बालबालिकाको मुस्कानजस्तै बेपरवाह । जहाँ केही लुकाउनुपर्ने हुन्छ, केही भन्न नसकिने अवस्था हुन्छ, डराउनुपर्ने स्थिति हुन्छ, हृदय खोल्न नसकिने अवस्था हुन्छ र बहाना बनाउनुपर्ने परिवेश निर्माण हुन्छ, त्यही जटिल जीवन हो । जहाँ आनन्द हुँदैन अथवा आनन्दको नाममा अनेकथोक गर्नुपर्ने हुन्छ, मस्ती हुँदैन, निद्रा हुँदैन, विश्राम हुँदैन, त्यही जटिल जीवन हो । जीवनशैलीमा देखापर्ने यही जटिलता नै रोगको मुख्य कारण हो ।
सरल हुनु स्वस्थ हुनु
सरल हुनुका फाइदा केके छन्, त्यो हिसाब गरी साध्य छैन । सबैभन्दा मुख्य त सरल व्यक्ति जहिले पनि स्वस्थ हुन्छ, अर्थात् ऊ आपूmमै रहन्छ, आफ्नो मूल्य, आफ्नो आदर्श, आफ्नो दर्शन, धर्म, धन र शक्तिमा रहेर प्रसन्न हुने व्यक्ति नै स्वस्थ हो किनकि स्वस्थ शब्दको अर्थ नै स्वयम्मा रहनु हो (‘स्व’ स्वयम् र ‘स्थ’ भनेको रहनु) । जुन मुस्कान उसले जन्मँदा लिएर आएको हुन्छ, त्यही उसको पहिचान हो, जुन निर्भयता र निर्मलता उसले सानो हुँदा प्रस्तुत गर्दछ, त्यही उसको विशेषता हो र त्यही विशेषता अनि पहिचानमा कायम हुनुको नाम नै स्वास्थ्य हो । त्यो स्वास्थ्य सरल भएरै प्राप्त हुन्छ ।
सरल हुनुको अर्को फाइदा सधैँ मस्तीमा रहनु हो । उसलाई कुनै पनि तनाव हुँदैन । केको तनाव ? तनाव त धेरै जम्मा गर्न नपाउँदा हुने हो, केही गुम्छ कि भन्ने सोच्दा हुने हो, कसैप्रति आक्रोश व्यक्त गर्दा हुने हो र आफ्नो रवाफ अरुलाई प्रस्तुत गर्न बाधा पुग्यो भने हुने हो । तर, एउटा सरल व्यक्तिलाई असाध्यै कमाउनु पनि छैन, त्यसैले गुमाउनु पनि छैन । उसले कुनै पनि विषय वा वस्तु विशेषलाई अतिरिक्त महत्त्व दिएको पनि हुँदैन । सबैप्रति समान, सबैप्रति स्पष्ट । अनि केको तनाव ? धेरै पाउने आशा गर्दा दायाँबायाँ गर्नुपर्ने हुन सक्छ र त्यसो गर्दा सत्य लुकाउनुपर्ने हुन्छ । अनि लुकाएको सत्यको धोती फुस्किन्छ कि भन्ने पिरले न मानिस तनावमा पर्ने हो ! एउटा पहाडको सरल किसानलाई कको तनाव ? एउटा चौतारीमा मस्तीका साथ पल्टिएको मागी खाने जोगीलाई केको तनाव ?
सरल तर सधैँ सम्पन्न
सरल जीवनका हिमायतिहरू कहिल्यै गरिब हुँदैनन्, उनीहरूलाई पैसाको कहिल्यै अभाव हुँदैन । हामीकहाँ आजभोलि बिघौँबिघा जमिन भएका, दुई चार वटा महँगा गाडी भएका, करोडौँ करोड पैसा भएका गरिबहरूको बिगबिगी छ । गरिब यसकारण कि उनीहरूलाई कहिल्यै पुगेको छैन । उनीहरूलाई इज्जतप्रतिष्ठाको तनाव छ । कतै छिमेकीको भन्दा मेरो घर सानो हुन्छ कि, कतै छिमेकीको भन्दा मेरो घरको खानाको स्वाद सादा हुन्छ कि, कतै अर्काको भन्दा मैले चढ्ने मोटर सस्तो हुन्छ कि भन्ने ठूलो तनावमा उनीहरूको पैसा खर्च हुन्छ । अरुलाई सबैकुरा देखाउनु छ, प्रदर्शन गर्नु छ, ठूलो हुनु छ ! यसरी त कति पैसाले पुग्छ र ! त्यस्तो मान्छेलाई जब पैसाले कहिल्यै पुग्दैन, ऊ केको धनी ? तर, सरल जीवन जीउनेहरूका अनेक स्वाद छैनन् । अनेक आकाङ्क्षा छैनन् । उनीहरूले आपूmलाई देखाउनु छ, प्रभुलाई देखाउनु छ, बाँकी संसारलाई कुनै पूmर्ति लगाउनु छैन । उनीहरू जहिले पनि आफ्नालागि खान्छन्, छिमेकीका लागि खाँदैनन्, आफ्नालागि लगाउँछन्, छिमेकीका लागि लगाउँदैनन् र आफ्नालागि बाँच्छन्, अरु कसैका लागि बाँच्दैनन् । आफ्नालागि खान, लगाउन र बाँच्न त कति चाहिन्छ र ? थोरैले पनि प्रशस्त पुग्छ । यसैले, सरलहरू धनी हुन्छन्, मितव्ययी हुन्छन्, हरेक कुरामा ।
उनीहरूलाई कहिल्यै बेफुर्सद हुँदैन । समय जति पनि हुन्छ । यसको अर्थ उनीहरू बेकम्मा हुन्छन्, यस्तो होइनन् । उनीहरू परम विश्राममा हुन्छन् । हामीकहाँ आजभोलि ‘काम पनि नहुने, फुर्सद पनि नहुने’ मानिसहरूको जमात छ । हामीसबै त्यही दिशातिर उन्मुख छौँ । कसैले सोध्यो के गर्नुहुन्छ ? उत्तरमा हामी भन्छौँ, खासै केही छैन । त्यसोभए घुम्न जाऊँ न, हुन्छ ? हुन त हुन्थ्यो, तर फुर्सदै छैन, के गर्ने ? कस्तो व्यस्तता हो ? हामी जसरी निरर्थक दौडिइरहेका छौँ, त्यसरी नै निरर्थक हराइरहेका छौँ, यही जटिल जीवन बाँच्ने नाउँमा । सामान्य मानिसहरू कहिल्यै पनि समयत्रासदीमा रहँदैनन् । ‘ओहो, यो काम गर्नुथियो, भएन । त्यहाँ जानु थियो, सकिएन’- जस्ता अभिव्यक्ति प्रायः कमै दिन्छन् । उनीहरूको समय अधिकांश सदुपयोग भएको हुन्छ । जटिल जीवनमा अनेकथरी कुरा भएपछि अनावश्यक दौडधुप पनि हुन्छ र त्यो दौडधुपले आवश्यक विश्रामको अवसर पनि मिल्दैन र समय व्यवस्थापन पनि अप्ठ्यारो भएर जान्छ, तसर्थ सरल भएर बाँच्दा प्रशस्त समयको वचत गर्न सकिन्छ ।
मानसिक शान्ति र आध्यात्मिक चिन्तन सरल जीवनको अर्को विशेषता हो । सरल मानिसहरूमा ईश्वरप्रति अचम्म गहिरो आस्था हुन्छ । उनीहरूले सबैलाई आफूजस्तै देख्छन्, अर्थात् ईश्वरीय देख्छन् । सबैलाई आफूजस्तै देख्नुलाई नै आस्तिकता भनिन्छ । मजस्तै सबै छन् र सबैको अस्तित्व छ भनेर सोच्नेहरू नै आस्तिक हुन् । आफूलाई केन्द्रमा राख्दा नै त जीवन जटिल हुने हो नि । जब हामीले आफूलाई पनि अरुकै ठाउँमा र अरुलाई पनि आफ्नै ठाउँमा राखेर हेर्न सक्छौँ, त्यो अवस्था नै सरल जीवनको अवस्था हो । त्यही सर्वस्वीकृतिको दर्शन हो । सरल जीवनयापन गर्नेहरूले मात्रै सबैलाई प्रेम गर्दछन्, उनीहरूसित मात्रै सबैलाई प्रेम र कल्याण गर्ने हैसियत हुन्छ । जो मान्छे म मात्रै बाँच्नु छ भन्छ, त्यही मान्छे जटिल हो । सरल जीवन बाँच्न चाहनेहरूले त सबैका लागि सोँचेका हुन्छन्, त्यसैले त सरल हुनुपर्यो । चाहिनेभन्दा धेरै खोज्नु नै जटिलता हो भने जति चाहिन्छ, त्यत्तिले काम चलाउनु सरलता हो । चाहिनेभन्दा बढी खोज्दा हामीले अरुमाथि अन्याय गर्न पुग्दछौँ भने जत्ति आवश्यक छ, त्यत्तिले काम चलाउँदा अरुको सम्मान गरेका हुन्छौँ । तसर्थ, सरल बनौँ, स्वस्थ बनौँ, सम्मान गरौँ, सम्मानित बनौँ । सरल हुनुको आनन्द शब्दमा वर्णन गर्न सकिँदैन ।