बिर्तामोडः झापामा एक बालिकामाथि निर्घात कुटपिट भएको छ ।
प्रदेश १ मा नै पहिलोपटक बालमैत्री नगर घोषणा गरिएको झापाको भद्रपुरमा ११ वर्षीया बालिकालाई बाँधेर निर्घात कुटपिट भएको प्रहरीले जनाएको छ । भद्रपुर–५ की ११ वर्षीया कविता राजवंशीमाथि स्थानीय कृषि फर्ममा काम गर्ने ३० वर्षीय अनिल पौडेलले खम्बामा बाँधेर कुटपिट गरेका हुन् ।
पौडेल कार्यरत फर्ममा बाख्रा पसेको निहुँमा बालिकालाई निर्घात कुटपिट भएकाले दोषीलाई कारबाही गर्न बालबालिकाको संस्था नगर बाल सञ्जालले माग गरेको छ ।
सुनसरीको इनरुवा घर भएका पौडेलले खम्बामा बाँधेर बालिकालाई कुटपिट गरेकाले कारबाहीको माग गरिएको नगर बाल क्लव सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलले बताइन् । बालबालिकाको स्वतन्त्र रूपमा बाँच्न पाउने संवैधानिक हकको हनन भएको हुँदा आवश्यक छानबिन गरी दोषीउपर कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न सञ्जालको माग छ ।
बालिका कुटपिट गर्नेले उनका घरमा आएर उजुरी नहाल्न चेतावनी दिएको पाइएपछि नगर बाल क्लब सञ्जालका तर्फबाट उजुरी गरिएको सञ्जाल अध्यक्ष प्याकुरेलले बताइन् । भद्रपुर नगरपालिका प्रदेश १ कै पहिलो बालमैत्री नगरपालिका हो । गत वर्षको पुस ७ गते भद्रपुरलाई बालमैत्री नगर घोषणा गरिएको थियो ।