धरानः नेपालले कोभिड-१९ विरुद्ध १२ वर्ष माथिका किशोरकिशोरीलाई पनि कोभिड-१९ विरुद्धको खोप प्रदान गर्ने तयारी थालेको छ।
कोभ्याक्स सुविधानमार्फत अमेरिकाले सहयोग उपलब्ध गराएको फाइजर-बायोएनटेकको पहिलो डोज काठमाडौं उपत्यकाका ९ र उपत्यका बाहिरका १५ गरी २४ वटा अस्पतालबाट किशोरकिशोरीहरुलाई दिने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए।
अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरणसहित सबै व्यवस्थापनपछि मात्र खोप दिने तयारी भइरहेको छ। हाल फाइजर-बायोएनटेकको १ लाख ६२० डोजमात्र नेपाल आइपुगेको छ। यो खोपले सो उमेर समूहका सबैलाई पुग्ने छैन। त्यसैले हाल २४ वटा अस्पतालबाट मात्र खोप दिइने भएको हो। ‘खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने छ,’ स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।