Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कर्मठ जनस्वास्थ्यकर्मी जनकदास श्रेष्ठ

हाम्रो कोशी आवाज
कार्तिक १३ २०७८, शनिबार
कर्मठ जनस्वास्थ्यकर्मी जनकदास श्रेष्ठ

कक्षामा पढाउने प्रायः शिक्षक हुन् । गुरु ती हुन् जसले दिएको अर्तिले जीवनको बाटो हिड्दा स्वाभिमान चढिन्छ । गुरु ती हुन् जसले अवलम्बन गरेको जीवनशैलीमा आदर्श र जीवनको सत्य प्रकट हुन्छन् । यसकारण मैले गुरुको परिभाषामा केवल शिक्षक, प्रशिक्षकको साँगुरो दायराभन्दा बृहद जीवनयात्रामा भेटिने सुपात्रलाई समेत गुरु मान्ने गरेको छु । जनस्वास्थ्यलाई कसरी बुझ्ने भनेर व्यवहारले सिकाउने मेरा आदरणीय अग्रज स्व. जनकदास श्रेष्ठका बारेमा केही लेखौं भनेर सोचेको करिव एक दशक भयो त्यसलाई पूरा गर्दैछु ।
गाउँघरमा एउटा उखान छ– व्यवहार गर्दा म भोलि मर्छु भनेर गर्नु । यो त एउटा जीवन दर्शन पो रहेछ । प्रस्तुत भनाइको गहिराई खोज्दा जीवनको अर्थ नै भेटिने रहेछ । सतहमै हेर्दा पनि हामीले आजको काम आजै गर्नुपर्दछ र काम गर्दा भोलि कामले नै बोलोस् आफू नरहे भन्ने पनि जनाउँछ । मानिसको जीवन मरणशील भएकाले आफूले गर्न चाहेको काम समयमै गर्नुपर्दछ भन्ने यसबाट सामान्य अर्थ निकाल्न सकिन्छ । सबै मानिसले एकदिन मरेर जाने नियति पालेका हुन्छौं, त्यसैले बाचुन्जेल एकअर्कासित मानवोचित व्यवहार गरौं भन्ने समेत अर्थ्याउन सकिन्छ । मैले भनिहालें नि, यो एक दार्शनिक भनाइ हो जसलाई हामीले जुन कोणबाट हेरे पनि आफूलाई आध्यात्मनजिक पाउँछौं । उहिलेका कुरा खुइले भनेझैं बुढापाकाका भनाइ भनेर हामीले यो भनाइलाई उति महत्व दिएनौ होला तर घाटा भने आफूलाई नै हुँदो रहेछ ।
दुनियाँमा आज लेखेका, पढेका, जान्ने, गुन्ने जान्ने मानिस कैंयौं छन् । विश्वविद्यालयबाट विभिन्न उपाधि लिएका विज्ञ छन् । तिनले विश्वविद्यालयमा पढाएका छन्, त्यहाँ पढ्ने अझ धेरैजना ज्ञानी छन् । तर तिनीहरु प्रायः आफूभित्रको ज्ञानलाई व्यवहारमा नल्याइकन नै संसारबाट विदा हुन्छन् । हामीले पढेर वा जानेर मात्र केही नहुने रहेछ । परिवार, समाज र जगतका लागि केही काम नगरी बित्यौं भने जीवन बेकार छ । उहिले रिस उठ्दा मेरा बाले मलाई – नाथे पेट त कुकुरले पनि पाल्छ हौ भनेर मलाई गाली गर्नुहुन्थ्यो । आफूलाई भने अब आफ्नो र परिवारको पेट पाल्नै हम्मे होला जस्तो लाग्दथ्यो । कहिलेकाहीँ ढिला उठे, सुतेर हुन्छ ! केही त गर् भनी बिहानै कराउनु हुन्थ्यो । त्यसबेला मलाई सारै रिस उठ्दथ्यो । सरकारी जागिरे जीवनमा निकै मेहनत गरेपछि करिव तीन दशकमा जब मैले दुई छाक टार्ने व्यवस्था गरें तब मात्र मलाई बाका भनाइरुपी घामका वाण मेरा मनका घैंटामा लागेझैं भयो । मलाई थाहा हुँदै गयो कि पेटपालोको लागि मात्र शिक्षा र ज्ञान लिनु भनेको आफैमा अधुरो शिक्षा वा कर्म रहेछ । अब जीवनमा कसरी सिर्जना र गुणात्मक सफलता पाउन सकिन्छ भनेर सोच्न थालें ।
त्यो मानिस सफल मानिन्छ जसले आफूमा भएको ज्ञानलाई व्यवहारमा उतार्छ । यो पनि सामान्य सैदान्तिक ज्ञान हो जसलाई हामीले वाल्यकालमा विद्यालयदेखि पढ्यौं तर यसको मर्म बुझ्न मलाई भने दाह्रीजुँघा नै फुल्नुपर्यो । सैदान्तिक ज्ञानलाई कसरी कहिले उतार्नुपर्दछ यो अहम् विषय रहेछ । यही मन्त्रलाई मेरो जीवनको महत्वपूर्ण कालखण्डमा सशक्त ढङ्गले मेरो दिमागको बत्ती बालिदिने काम गर्नुभयो मेरा अग्रज जनस्वास्थ्यविद् जनकदास श्रेष्ठले । उहाँ भन्नुहुन्थ्यो हेर्नोस् नवराजजी, संसारमा तपाईजस्ता जनस्वास्थ्य विषय पढेका मानिस कैंयौं छन्, कैयौं मानिस एमपीएच पढेपछि आफूलाई जनस्वास्थ्य विज्ञ ठान्दछन् । तर उहाँको विचारमा त्यो मानिस असलमा जनस्वास्थ्यकर्मी हो जसले आफूमा निहित ज्ञानलाई समयानुकूल तत्काल कार्यान्वयनमा ल्याउँछ । अर्थात् उहाँको भाषामा जसमा ‘ड्राइभ पावर’ (लगाव) हुन्छ त्यसले मात्र प्रतियोगिता जित्छ । मनमा तर्कवितर्क मात्र गरेर, गफ वा भाषण गरेर, लेख कोरेर मात्र काम पूरा हुँदैन त्यसलाई प्रकाशमा ल्याउनुपर्छ । तब मात्र ज्ञानको सार्थकता हुन्छ । तपाई मनमा केही कुरा गर्छु भनेर सोच्नुहुन्छ त्यो नराम्रो होइन तर तपाईले त्यसलाई गरेर देखाउनु पर्यो तब मात्र जगतले देख्छ र बुझ्छ । अनि मात्र तपाईलाई दुनियाँले चिन्छ, यसरी तपाईको व्यक्तित्व निर्माण हुन्छ र पहिचान बन्दछ ।

उहाँको यो भनाइ मलाई भित्री मनमा गढ्न गयो । मैले जीवनमा यो अर्तीलाई यथासम्भव उतार्ने प्रयास गरें । जनस्वास्थ्यका क्षेत्रमा यसलाई मैले मन्त्रकै रुपमा लिएँ । यसभन्दा बाहिर जीवनका अन्य क्षेत्रमा पनि यसलाई व्यवहारमा उतार्ने प्रयास गरें । मैले मनमा कैंयौं वर्षदेखि साँचेर राखेका रचनालाई प्रकाशमा ल्याएँ । डायरीमा सीमित मेरा गीत, कवितालाई पुस्तक कृतिका रुपमा निकालें । मनमा रहेका संस्मरणलाई पनि मैले सम्पत्ति मानेर लिपिवद्ध गरिदिएँ । यसरी मनमा उठेका भावनालाई तत्काल रचनामा परिणत गरें र रचनालाई संग्रह वा पुस्तकका रुपमा प्रकाशमा ल्याएँ । आ… भोलि गर्छु भनेर छेपाराको कथा लेख्ने होइन मनमा आए विचार्ने र भिडिहाल्ने र गरेर देखाइहाल्नुपर्दछ । श्रेष्ठबाट सिकेको उक्त ज्ञान र आत्मबलले मेरो व्यवहार परिवर्तन भएको म मान्दछु । यसले मेरो जीवनमा परिवर्तन ल्याएको छ र व्यक्तित्व विकासमा मदत पुगेको पनि विश्वास गर्दछु ।
उहाँको अर्को एउटा विशिष्ठ क्षमता थियो । जनस्वास्थ्य कार्यक्रमलाई अत्यन्त सूक्ष्म र आलोचनात्मक नजरले हेर्ने र केलाउने । मानिसका मौखिक भनाइभन्दा तथ्यांकलाई आधार मान्ने उहाँको बानी थियो । तथ्यांकको गहिराइमा पुगेर गुणात्मक आधारमा मात्र विश्वास गर्ने उहाँको बानी थियो । यसैले जनस्वास्थ्यका कुनै पनि सवालमा कुराकानी वा छलफल गर्दा जहिले पनि तथ्यांक अघि सार्ने गर्नुहुन्थ्यो । यसैले जोकोहीले उहाँका कुरा काट्न सक्दैनथे । उहाँले तथ्यपरक ढंगले राखेका सवाललाई जनस्वास्थ्य समाजले ध्यानपूर्वक सुन्दथ्यो । यसरी जनस्वास्थ्य क्षेत्रमा जनकदास श्रेष्ठको अलग व्यक्तित्व र पहिचान स्थापित भयो ।
पूर्वाञ्चल क्षेत्रमा स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गोष्ठीमा प्राविधिक रुपमा नेतृत्व प्रदान गर्नेमा एक जनकदास श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ एक गैरसरकारी संस्थामा कार्यरत रहेर क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई कार्यक्रम अनुगमन र योजना तर्जूमामा सक्रिय भूमिका खेल्नुहुन्थ्यो । हामी निर्देशनालयमा कार्यक्रम अधिकृतका रुपमा रहँदा उहाँसित धेरै उठबस गर्यौं । उहाँले औपचारिक, अनौपचारिक रुपमा व्यक्त गरेका कुराहरुले मेरा मनभित्र गहिरो छाप छाडे । मैले पढेको वा बुझेको जनस्वास्थ्य वास्तवमा यस्तो रहेछ भनेर मैले चाल पाएँ । मैले कैंयौं वर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तर्फबाट प्राविधिक रिपोर्ट लेखनकार्य सम्पन्न र प्रकाशित गरें जुन उहाँको प्राविधिक परामर्श नपाइकन सम्भव थिएन । मैले पूर्वाञ्चलको जनस्वास्थ्यको स्थितिलाई राम्ररी केलाउने अवसर पाएँ । यो ज्ञानले मलाई पछि जिल्लामा गएर जिल्ला जनस्वास्थ्य कार्यालयको व्यवस्थापन गर्न सहज भयो । जनकदास सरको भनाइलाई मैले मनमा नलिएको भए जिल्लामा म सायद त्यत्तिकै हराउँथे होला । तर एकहदसम्म काम गरेर देखाउन सकें भन्ठान्दछु । यसमा अग्रज जनकदास श्रेष्ठको समेत अमूल्य योगदान र छाप मामाथि परेको श्वीकार्दछु ।
मलाई उहाँको जीवनमा घटेको एउटा सत्यले भने नराम्ररी घायल बनायो । करिव डेढ दशक पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयसित सहकार्य गरेर वर्षेनी सम्पन्न हुने वार्षिक, अर्धवार्षिक समीक्षा गोष्ठीमा महत्वपूर्ण प्राविधिक सहजकर्ता रहेका उनै जनकदास श्रेष्ठ सबैका आँखाका नानी हुनुहन्थ्यो । म त्यसको एक साक्षी मात्र हुँ । एक साल उहाँको निधन भयो । त्यो साल पनि निर्देशनालयले विराटनगरमा वार्षिक समीक्षा आयोजना गर्यो । त्यहाँ उहाँको भौतिक उपस्थिति अब संभव भएन । मलाई उहाँको अनुपस्थितिमा दुःखत छँदैथिएँ तर आश्चर्य केमा भयो भने, न त निर्देशनालयले न त स्वास्थ्य सेवा विभाग वा जिल्लाका कुनै पदाधिकारीले गोष्ठीमा उनै जनकदास श्रेष्ठको नाम लिएर कसैले सम्झिएनन् । निर्देशनालय एक आयोजकको नाताले दुई वाक्य कार्यक्रमको आरम्भ वा दौरानमा बोलेर श्रद्धाञ्जली दिन सक्दथ्यो । हिजोसम्म जसको बोली सहभागीले गम्भीरतापूर्वक सुन्दथे आज उनको मृत्युमा कतै सोधीखोजी छैन । त्यो दृश्य देखेर मलाई वास्तवमा सारै नरमाइलो लाग्यो । मलाई के विश्वास भयो भने आज हामी यसरी जति फाइँफुइँ गरे पनि हामीलाई यहाँ भोली कसैले सम्झने रहेनछन् । मलाई त्यस्तो भावना वा ज्ञान प्रकट भयो र म मनमनै एकप्रकारको हतोत्साही बनें । यो भाव मनमा यति खेल्यो कि मलाई अब यो जागिरे जीवन केही रहेन छ जस्तो लाग्नथाल्यो । मैले जागिर वा सेवा जे भने पनि त्यो मैले केवल आफ्नै लागि ज्यादा खाएको रहेछु भन्ने भयो । वास्तवमा उहाँको बारेमा केही लेख्छु भनेर त्यसै दिन अठोट गरेको थिएँ । त्यो चाहना पूरा हुन झन्डै डेढ दशक लाग्यो ।
मानिस कत्ति स्वार्थी जाती रहेछ म यही दृष्टान्त लिएर मनमा केलाउँछु । जनस्वास्थ्य क्षेत्रमा एकसेएक जानिफकार छन् । तर कसैले कसैलाई उचित सम्मान र सम्झना गर्ने चलन छैन । तुलनात्मक हिसाबले साहित्य जगतमा कुनै कृति वा व्यक्तित्वलाई लिएर स्रष्टाको सम्झना गर्ने गरिन्छ । यो राम्रो कुरो हो । साहित्य क्षेत्रमा दुई–चार पुस्तक लेखेपछि चर्चामा आउँछ तर प्राविधिक क्षेत्रमा त्यत्रो योगदान दिनेको नाम कतै नआएको देखेर मलाई नमज्जा लाग्दछ । आज सामाजिक क्षेत्रमा विकासका क्षेत्रमा योगदान दिने व्यक्तिलाई कतै सम्झना गरिएको पाइदैन । यसमा कलमको ध्यान जानु जरुरी छ । म पो जनस्वास्थ्य क्षेत्रमा आबद्ध भए तापनि साहित्य क्षेत्रमा समेत लगाव भएकाले कलम खेलाउन सक्छु । तर कसैमा आफूभित्र असीम ज्ञानका भण्डार भए तापनि कलम नचलेपछि ती आफूसितै बिलाउने भए । यसरी अनाम हुनेका सूचीमा समाजले भुल्न नहुनेको नाम छुट्नु आज कलमका लागि चुनौति हो ।
हाम्रो देशमा पढेलेखेका दिग्गज, प्राविधिक, प्रशासक, व्यवस्थापक, जानकार मजदूर, किसान, कुशल गृहिणीका मनमा असीमित ज्ञान र शीप छन् । तीमध्ये धेरै जसोले म यसो गर्छु, उसो गर्छु भनी मनमनमा योजना बनाउँछन् तर तिनले त्यसको कार्यान्वयन यो वा त्यो बहानामा कहिल्यै गर्दैनन् । धेरै विज्ञ, ज्ञानी मानिसका ज्ञान र शीप उभित्रै सीमित रही विलिन भएर जान्छन् । थोरै अर्थात् करिव पाँच प्रतिशतले मात्र मनमा अठोठ गरेका कामलाई आरम्भ गर्छन तर तिनमध्ये बहुसंख्यकले बीचैमा त्यो काम अधुरै छाडछन् । आफूभित्र आज ज्ञान र शीप भएका एक प्रतिशत मानिसले पनि आज आफ्नो क्षमताको पूरा उपयोग गर्ने गरेका छैनन् । श्रेष्ठको जोड यहीँनेर थियो । मानिसमा ज्ञान र शीप मात्र भएर हुँँदैन । उभित्र राम्रो योजना बन्नुपर्दछ । योजना बनेर मात्र हुँदैन जसले त्यो गरेर देखाउँछ उसले मात्र नतिजा निकाल्छ । मानिसले उसलाई नतिजाको आधारमा मात्र चिन्दछन् । त्यसैले राम्रो काम आज अहिल्यै थालिहाल्नुपर्दछ वा गरिहाल्नुपर्दछ ।
म त्यस्ता मार्गदर्शक गुरु जनकदास श्रेष्ठलाई सदा सम्झिरहन्छु, जसले मलाई जीवनमा अघि बढ्ने दृष्टि र आत्मबल दिनुभयो । मैले यसमा थप्न चाहेको कुरो के मात्र छ भने, मानिस अघि बढ्न आत्मविश्वास पनि चाहिन्छ । आत्मविश्वास भएन भने नतिजा के हुने हो भनेर संभावित नतिजाको डरले मानिस पाइला चाल्न अलमल र बहानाबाजी गर्ने गर्दछन् । आत्मविश्वास त्यसै प्राप्त हुदैन, त्यो अध्ययन, अनुसन्धान, परीक्षण र अभ्यास वा अनुभवले मात्र हासिल हुने कुरो हो । अतः जीवनमा ज्ञान, शीप, आत्मविश्वासका साथ तत्काल पहलकदमी हुनुपर्दछ । तब मात्र हाम्रा असीमित सपना एकदिन विपनामा परिणत हुनेछन् ।
-विराटनगर, मोरङ

प्रकाशित मिति: कार्तिक १३ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend