Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज काग र कुकुर तिहार

हाम्रो कोशी आवाज
कार्तिक १७ २०७८, बुधबार
आज काग र कुकुर तिहार

धरानः कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चिजबिज खान दिएर मनाइँदै छ ।
बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेष गरी दही भात खुवाइन्छ ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।
लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ । ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने मङ्गलबार साँझदेखि नै सुरु भएको छ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने मङ्गलबारदेखि नै सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायङ्कालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै शुरु भएको समितिले जनाएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ कागेश्वरी धाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित कागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्छ ।
कागेश्वरी धाममा भने अष्टधातुको कागको मूर्ति बनाइएको छ । २५० केजीको यो कागेश्वरी मन्दिर नेपालकै ठूलो हो । यसको नजिकै लोकतान्त्रिक शहीद उद्यानस्थलमा एक हजार किलोको कागको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।
कुकुर तिहार पनि आजै
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । आज बिहान ७: १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १७ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend